काठमाडौँ।
जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित उनको निवासमै पुगेर नियन्त्रणमा लिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले जनआस्थाले आफ्नो चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई छलफलका लागि साइबर ब्युरो लगेको बताइएको छ।
पत्रकार श्रेष्ठले आफू प्रहरी नियन्त्रणमा परेको पुष्टि गरेका छन्। प्रहरी उनको घरमा पुगेका बेला उनले फेसबुकमा लेख्दै समाचार प्रकाशन गरेको विषयलाई लिएर आफूलाई घरबाटै लिन आएको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरू भने स्वतन्त्र रहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका छन्।
यसैबीच, प्रकाशित समाचारलाई लिएर अश्लील गालीगलौज गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा जनआस्थाले पनि हिमेश पन्तविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ।
पत्रकार श्रेष्ठलाई यसअघि गत साउन २७ गते पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस क्रममा उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री जफत गरिएको थियो।
बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए।











प्रतिक्रिया