काठमाडौं ।
काठमाडौं महानगरपालिकाले ट्राफिक जाम र साँघुरा गल्लीका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न ढिलाइ हुने समस्या कम गर्न बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबार महानगरको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतिकरण कार्यक्रममा बोल्दै आजदेखि सेवा सुरु गरिएको जानकारी दिएकी हुन्।
उनका अनुसार एम्बुलेन्स सेवाका लागि १०२ नम्बरमा फोन गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत परिचालन गरिनेछ। विशेषगरी चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने साँघुरा गल्ली तथा बढी ट्राफिक जाम हुने स्थानमा तत्काल प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स प्रयोग गरिने उनले बताइन्।
डंगोलका अनुसार काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भए पनि बिरामीसम्म समयमै सेवा पुर्याउनु मुख्य चुनौती बनेको छ। सडकमा हुने अत्यधिक जाम र महानगरको भौगोलिक बनावटका कारण कतिपय स्थानमा चारपाङ्ग्रे एम्बुलेन्स पुग्न ढिलाइ हुने गरेको उनको भनाइ छ।
‘एम्बुलेन्सको संख्या कम भएर भन्दा पनि समयमा सेवा पुर्याउन नसक्नु मुख्य समस्या हो। ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने ठाउँमा तत्काल प्रतिक्रिया दिन बाइक एम्बुलेन्स परिचालन गर्नेछौँ,’ उनले भनिन्।
महानगरपालिकाले बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा प्रारम्भिक स्वास्थ्य सहायता उपलब्ध गराउने पहिलो प्रतिक्रियाकर्ता सेवाका रूपमा सञ्चालन गर्ने जनाएको छ। यसबाट बिरामीलाई आवश्यक प्राथमिक सेवा छिटो उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, महानगरपालिकाले स्वास्थ्य संस्थाहरूको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा स्वास्थ्य पूर्वाधार, उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवा प्रवाहमा सहयोग र सहकार्य गर्दै आएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन्।
महानगरको यो पहलले विशेषगरी व्यस्त सडक, चोक र साँघुरा बस्तीमा आकस्मिक स्वास्थ्य सेवा पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया