सिन्धुली ।
सिन्धुलीमा यात्रुवाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर नजिक बस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २७७४ नम्बरको बस खाना खानका लागि होटलमा रोकिएको थियो। खाना खाइसकेपछि यात्रु चढाएर बस ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको बताइएको छ।
दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा लगिएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले घटनाबारे जानकारी दिएका हुन्।
दुर्घटनाको थप विवरण तथा घाइतेहरूको अवस्थाबारे भने विस्तृत जानकारी आउन बाँकी छ।











प्रतिक्रिया