काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। मधेस र बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पदहरूको अन्तिम मतपरिणाम आएसँगै सबै पदको गणना सकिएको हो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार असोज २३ गते रातिदेखि सुरु भएको मतगणना करिब एक सातामा पूरा भएको हो। लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडित समूहबाट केन्द्रीय सदस्य चयनका लागि भएको मतगणना भने राति नै सम्पन्न भएको थियो।
त्यस्तै, सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यअन्तर्गत खस आर्य र थारू समूहको मतगणना पनि राति अबेर सकिएको कटुवालले जानकारी दिए। सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र त्यसपछि औपचारिक नतिजा सार्वजनिक गरिने उनले बताए।
सभापति पदको मतगणना मतदान भएकै दिन असोज २३ गते राति सुरु गरिएको थियो। त्यसको नतिजा भोलिपल्ट बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो।
निर्वाचन समितिका अनुसार यसपटक ७ हजार ३९२ मतदाताले मतदान गरेका थिए। उनीहरूको मतगणना एक सातामै सम्पन्न भएको हो। यसअघि १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो।
कटुवालले यसपटक दिनरात गरी करिब २५ वटा समूह परिचालन गरेर मतगणना गरिएको बताए। उनका अनुसार झण्डै १ लाख ६२ हजार मतपत्र गणना गरिएको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद समावेश थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए।
उनले मतदानदेखि मतगणनासम्म कुनै विवाद नआएको र निर्वाचन प्रक्रिया सौहार्दपूर्ण रूपमा सम्पन्न भएको दाबी गरे।
निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दशैँपछि आयोजना गर्ने तयारी गरिएको छ। शपथग्रहणपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन्। उक्त बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक रणनीति तथा कार्ययोजनाबारे पनि छलफल हुने तयारी रहेको छ।











प्रतिक्रिया