काठमाडौं।
अर्काको नामबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुटो उजुरी दिएको पुष्टि भएपछि रुकुम पश्चिमका एक व्यक्तिलाई २ हजार रुपैयाँ जरिवाना गरिएको छ।
जरिवानामा पर्ने व्यक्ति आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगर हुन्। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले एबी राई अर्थात् आङबाबु राईको नाम प्रयोग गरी आयोगमा उजुरी दिएका थिए।
उजुरीमा आफूलाई नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) बताउने एक व्यक्तिले सहकारीबाट ऋण लिएको, रकम फिर्ता माग्दा उजुरी मिलाइदिने भन्दै ४० लाख रुपैयाँमध्ये १५ लाख नगद र थप रकमको चेक लिएको तथा धम्की दिएको दाबी गरिएको थियो। उक्त विषयमा अनुसन्धान गर्न माग गर्दै आयोगमा उजुरी परेको थियो।
आयोगले उजुरीमाथि अनुसन्धान अघि बढाउँदा उजुरीकर्ताका रूपमा उल्लेख गरिएका आङबाबु राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षरसमेत आफ्नो नभएको बताएका थिए। उनले जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर आफ्नो नाममा आएको उजुरीसँग सम्बन्धित हस्ताक्षरको सनाखत गरेका थिए।
त्यसपछि आयोगले शंकाका आधारमा दीपक पुन मगरमाथि अनुसन्धान अघि बढाएको थियो। २०८३ साल असार १७ गते बयान लिने क्रममा मगरले आफूले नै आङबाबु राईको नामबाट उजुरी दिएको स्वीकार गरेको अख्तियारले जनाएको छ।
आयोगसमक्ष बयान दिँदा मगर र आङबाबु राई दुवैले आफूहरूमाथि कुनै प्रकारको धम्की नआएको र रकमसमेत नफसेको बताएका थिए।
अर्काको नाम प्रयोग गरी झुटो उजुरी दिएको ठहर भएपछि मगरलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ लगायत प्रचलित कानुनबमोजिम २ हजार रुपैयाँ जरिवाना गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए।














प्रतिक्रिया