काठमाडौं।
सशस्त्र प्रहरी बल, नेपालका १ हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थसहित देशभरका १० वटा शिक्षालयमा सञ्चालित सि.सं. २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरेपछि उनीहरू कार्यक्षेत्रमा प्रवेश गरेका हुन्।
२०८२ साल मंसिर १९ गतेदेखि सञ्चालन भएको करिब १० महिना अवधिको तालिम सम्पन्न गरेका जवानहरू असोज २९ गते दीक्षित भएका हुन्। तालिमका क्रममा उनीहरूले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, फौजी कला, सीप र व्यावसायिक दक्षता हासिल गरेका छन्।
कुन शिक्षालयबाट कति जना दीक्षित ?
सशस्त्र प्रहरी बलका अनुसार राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थबाट १२३ जना दीक्षित भएका छन्। त्यस्तै, पाथिभरा जवान तालिम शिक्षालय झापाबाट ११७, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट ११६ र संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटबाट २३३ जना दीक्षित भएका छन्।
यसैगरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११९, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखराबाट ११५, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, पश्चिम नवलपरासीबाट १२५ र सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँकेबाट ११६ जना दीक्षित भएका छन्।
राजस्व, भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय टीकापुर, कैलालीबाट ११३ जना र बडिमालिका जवान तालिम शिक्षालय वनबेहडा, कैलालीबाट ११९ जना दीक्षित भएका छन्।
सीमा सुरक्षा र विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा
तालिमका क्रममा प्रशिक्षार्थीहरूले अनुशासन, इमानदारी, कर्तव्यनिष्ठा, राष्ट्रप्रतिको समर्पण, मानवीय संवेदनशीलता र सांगठनिक जिम्मेवारीबोधसम्बन्धी ज्ञान हासिल गरेको सशस्त्र प्रहरीले जनाएको छ।
दीक्षित जवानहरूले व्यावसायिक मर्यादा र उच्च नैतिक आचरण कायम राख्दै राष्ट्र तथा नागरिकको सेवामा समर्पित रहने अपेक्षा गरिएको छ। उनीहरू कार्यक्षेत्रमा प्रवेश गरेसँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा आन्तरिक सुरक्षालगायतका जिम्मेवारी सम्पादनमा संगठनलाई थप सहयोग पुग्ने विश्वास गरिएको छ।
सरकारको आर्थिक सुशासन तथा पारदर्शितासम्बन्धी नीतिअनुसार दीक्षान्त कवाज मितव्ययी ढंगले सम्पन्न गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
विभिन्न शिक्षालयमा दीक्षान्त कवाज सम्पन्न
पाथिभरा जवान तालिम शिक्षालय झापामा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडामगर र संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्यमा दीक्षान्त कवाज सम्पन्न भएको थियो।
त्यस्तै, मातातीर्थस्थित प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापा, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजेन्द्र खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविण कडेल, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा सशस्त्र प्रहरी नायब महानिरीक्षक किरण बस्नेत, जवान तालिम शिक्षालय नौबस्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी, राजस्व, भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय टीकापुरमा सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र कुँवर र बडिमालिका जवान तालिम शिक्षालय वनबेहडामा सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा दीक्षान्त कवाज सम्पन्न भएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिएका छन्।














प्रतिक्रिया