नेपालीहरूको महान् चाड बडादशैँ, तिहार, नेपाल संवत् र छठ धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेका पर्व हुन् । यी पर्वले परिवार, आफन्त र समुदायबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै आपसी प्रेम, सद्भाव र खुशी साटासाट गर्ने अवसर प्रदान गर्छन् । मान्यजनबाट आशीर्वाद लिने, सानालाई माया बाँड्ने, टाढिएका आफन्तसँग भेटघाट गर्ने र मीठोमसिनो खाएर रमाउने परम्परा नेपाली समाजको मौलिक पहिचान हो । तर चाडपर्वको उल्लाससँगै आफ्नो र आफन्तको स्वास्थ्यको ख्याल राख्नु पनि उत्तिकै आवश्यक छ । दशैँमा विशेष गरी माछामासु, मिठाईको उपयभोग बढी गरिन्छ । स्वाद बढाउन धेरै तेल, घिउ, नुन र मसलाको प्रयोग गर्ने चलन पनि छ । आफन्तलाई मीठो खुवाएर माया र सम्मान प्रकट गर्ने हाम्रो परम्परा राम्रो भए पनि खानपानमा असन्तुलन हुँदा यही माया स्वास्थ्यका लागि जोखिम बन्न सक्छ ।
विशेष गरी उच्च रक्तचाप, मधुमेह, मोटोपन, मुटु तथा मिर्गौलासम्बन्धी समस्या भएका व्यक्तिले खानपानमा थप सावधानी अपनाउनुपर्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरिरहेका व्यक्तिले चाडपर्वका कारण औषधि छुटाउने वा खानपानको नियमितता बिगार्ने गर्नुहुँदैन । स्वस्थ व्यक्तिले पनि चाडपर्व भन्दैमा शरीरले धान्न नसक्ने गरी खानु उचित हुँदैन । आफन्तलाई माया गरेको सोचेर स्वास्थ्यका लागि अनुपयुक्त खाना खान दबाब दिनुहुँदैन । मधुमेह भएका व्यक्तिलाई अत्यधिक गुलियो, उच्च रक्तचाप भएका व्यक्तिलाई धेरै नुनिलो तथा चिल्लो खाना वा कुनै स्वास्थ्य समस्या भएका व्यक्तिलाई मदिरा सेवन गर्न प्रोत्साहित गर्नु आत्मीयता होइन । कसैको स्वास्थ्य अवस्थाअनुसार खानाको विकल्प दिनु र उसको आवश्यकताको सम्मान गर्नु नै वास्तविक माया हो । त्यसैले हरेक परिवारले खानपानमा सन्तुलन कायम गर्दै आफ्नो र आफन्तको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ ।
मासु खानै हुँदैन भन्ने होइन, तर यसको मात्रा र पकाउने विधिमा ध्यान दिनुपर्छ । मासुमा देखिने अतिरिक्त बोसो हटाउने, धेरै तेलमा तारेर वा भुटेर खानुको सट्टा उसिन्ने, पकाउने वा कम तेलमा झोलिलो बनाएर खाने बानी राम्रो हुन्छ । दाल, गेडागुडी, सागसब्जी, फलफूल र अन्य पोषिलो खाद्य पदार्थलाई पनि भोजनमा समावेश गर्नुपर्छ । चाडपर्वमा पकाइएका परिकार लामो समयसम्म खुला नराख्ने, काँचो र पाकेको खाना छुट्टाछुट्टै राख्ने, मासु राम्ररी पकाएर खाने र बाँकी खानालाई सुरक्षित रूपमा भण्डारण गर्ने विषयमा पनि सचेत हुनुपर्छ । चाडपर्वमा मदिरा सेवनलाई रमाइलोको अनिवार्य हिस्सा ठान्नुहुँदैन । सन्तुलित खानपानसँगै नियमित हिँडडुल, पर्याप्त निद्रा र शारीरिक सक्रियतालाई पनि निरन्तरता दिनुपर्छ ।
दशैँमा नयाँ लुगा, मीठो खाना, उपहार र भेटघाटका नाममा आर्थिक क्षमताभन्दा बढी खर्च गरेर ऋणको बोझ बोक्नु पनि उचित होइन । खुशी महँगा परिकार र भव्य भोजमा मात्र सीमित हुँदैन । परिवारसँग बिताएको समय, आपसी सहयोग, प्रेम र सद्भावले पनि पर्वलाई अर्थपूर्ण बनाउँछ । चाडपर्व हाम्रो संस्कृति र पहिचान हुन् । सबैको खुशी, एकता र सद्भाव बढाउनुपर्छ, रोग, दुर्घटना र आर्थिक समस्याको कारण बन्नुहुँदैन । जनस्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने तथ्यलाई आत्मसात् गर्दै मीठोमसिनो खाऔँ, आफन्तलाई पनि खुवाऔँ, तर स्वास्थ्यको ख्याल गरेर । असन्तुलित खानपानबाट जोगिऔँ र स्वस्थ जीवनशैली अपनाऔँ । यसपालिको दशैँ दशा नबनोस् । हरेक घरमा खुशी छाओस्, कोही बिरामी नपरून् र कसैले ऋणको बोझ बोक्नु नपरोस् । चाडपर्वको रमाइलोसँगै स्वास्थ्यको पनि ख्याल गरौँ ।














प्रतिक्रिया