काठमाडौं।
संसदीय सुनुवाइ समितिले सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेका दुई जनाको नाम अस्वीकृत गरेको छ । समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको हो ।
सरकारले सिफारिस गरेका १३ जनामध्ये १० जनाको नाम समितिले अनुमोदन गरेको छ भने जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नामबारे थप कागजात अध्ययन गरेर निर्णय गर्ने भएको छ ।
सुनुवाइका क्रममा प्रस्तावित उम्मेदवारहरूमाथि परेका उजुरी र उनीहरूको आचरणसम्बन्धी प्रश्न उठेका थिए । सुनारमाथि महिला हिंसा, धम्की तथा आर्थिक लेनदेनसम्बन्धी आरोप लगाइएको थियो । खरेलमाथि पनि स्वार्थको द्वन्द्व र अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका आरोपसहित उजुरी परेका थिए ।
सुनुवाइका क्रममा सांसदहरूले उजुरीमा उल्लेख गरिएका विषयमा उम्मेदवारहरूसँग जवाफ मागेका थिए । खरेलले उठेका प्रश्नमा चित्तबुझ्दो जवाफ दिन नसकेको समितिको निष्कर्ष थियो । सुनारले महिला हिंसासम्बन्धी उजुरी परेकी महिलासँग प्रेम सम्बन्ध रहेको स्वीकार गर्नुभएको थियो ।
जापानका लागि प्रस्तावित थापामाथि जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको र त्यहाँको सरकारी सेवामा काम गरेको विषयमा उजुरी परेको थियो । समितिले यस विषयमा थप कागजात अध्ययन गरेपछि निर्णय गर्ने जनाएको छ ।
राजदूत नियुक्तिका लागि प्रस्तावित व्यक्तिको नाम अस्वीकृत गर्न संसदीय सुनुवाइ समितिमा दुई तिहाइ समर्थन आवश्यक पर्ने व्यवस्था छ । समितिको निर्णयसँगै सरकारले गरेको राजदूत नियुक्तिको सिफारिसमा संसदीय सुनुवाइबाटै दुई जनाको नाम अस्वीकृत भएको छ ।
यसअघि समितिले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गरेको थियो । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधान र राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईको नाम पनि विवादपछि अस्वीकृत भएको थियो ।
समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम अनुमोदन गरेको छ ।














प्रतिक्रिया