चाडबाड लक्षित सुरक्षा योजना–२०८३ लागु: देशैभर ५० हजार ४५८ प्रहरी परिचालन

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत ७ हजार ६६८

0
Shares

–कोशी प्रदेशअन्तर्गत ८ हजार १३३

–मधेस प्रदेशअन्तर्गत ७ हजार २३०

–बागमती प्रदेशअन्तर्गत ४ हजार ४९९

–गण्डकी प्रदेश अन्तर्गत ५ हजार १८८

–लुम्बिनी प्रदेशअन्तर्गत ७ हजार ९२१

–कर्णाली प्रदेशअन्तर्गत ५ हजार ३१४

–सुदूरपश्चिम प्रदेशअन्तर्गत ४ हजार ५०५

काठमाडौँ

नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८३ लागू गरेको छ । चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवम् प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउन उक्त सुरक्षा योजना लागू गरिएको हो ।

चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला, बालबालिका, अपाङ्ग एवम् जेष्ठ नागरिकको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको हो ।

चाडपर्वको अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुन सक्ने दंगा, लुटपाट वा अन्य अप्रिय घटनाहरू, एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीहरूप्रति विशेष रूपमा सचेत भई नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको छ ।

चाडपर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबारलगायतका आपराधिक गतिविधिहरू नियन्त्रण तथा न्यूनीकरण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालित हुनेछन् । अन्तर्राष्ट्रिय खुला सीमा नाकाहरूबाट अवैध हातहतियार, पटका, बिस्फोटक पदार्थ, लागूऔषधलगायतको ओसारपसार तथा तस्करी नियन्त्रणमा समेत विशेष सुरक्षा व्यवस्था अपनाइएको छ ।

यो योजनाअन्तर्गत काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीलगायत ७ वटै प्रदेश प्रहरी कार्यालयहरूबाट ५० हजार ४ सय ५८ जनशक्ति परिचालन हुनेछन् । जसमध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत ७ हजार ६६८, कोशी प्रदेशअन्तर्गत ८ हजार १३३, मधेस प्रदेशअन्तर्गत ७ हजार २३०, बागमती प्रदेशअन्तर्गत ४ हजार ४९९, गण्डकी प्रदेशअन्तर्गत ५ हजार १८८, लुम्बिनी प्रदेशअन्तर्गत ७ हजार ९२१, कर्णाली प्रदेशअन्तर्गत ५ हजार ३१४ र सुदूरपश्चिम प्रदेशअन्तर्गत ४ हजार ५०५ जना जनशक्ति परिचालन हुनेछन् ।

साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउन नागरिक–प्रहरी सहकार्यलाई विशेष प्राथमिकतामा राखेर स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायसँग निरन्तर सहकार्य तथा समन्वय गरिने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले बताउनुभयो । उहाँले परम्परागत शैलीभन्दा पनि प्रविधिमा आधारित सुरक्षा निगरानीलाई विशेष प्राथमिकतामा राखेको छ ।

लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुको सुरक्षा तथा सडक सुरक्षा व्यवस्थापन गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनहरूको सम्बन्धमा बाहिरिनुभन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र चेकजाँच, मादक पदार्थ एवम् लागूपदार्थ सेवन चेकजाँच, सिट क्षमताअनुसार यात्रु राखे नराखेको चेकजाँच, ट्राफिक कम्युनिकेसन एप्लिकेसन प्रयोग गरी लामो दूरीको सवारी साधनहरूमा २ जना चालक भए नभएको चेकजाँच गर्ने र प्रत्येक सवारी साधनहरूको मेकानिकल टेष्ट गरेको प्रमाणपत्र समेत चेकजाँच गरिने बताइएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरूबाट १ हजार १ सय ६५ जनशक्ति परिचालन गरी देशभरका विभिन्न स्थानमा ४ सय ८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । साथै अन्तर्राष्ट्रिय सीमा नाकाका १ सय ८ स्थानमा हेल्पडेस्क स्थापनामा गरी थप ७ सय ५ जनशक्ति परिचालन भएका छन् ।

यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गर्ने, हराएका र भेटिएका व्यक्ति तथा सामानसम्बन्धी समन्वय गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता गर्ने, यात्रुहरूको गुनासो तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पठाउने र शंकास्पद गतिविधिको सूचना संकलन गरी आवश्यक रूपमा प्रहरी परिचालन गरिनेछ ।

चाडपर्वको समयमा सिसिटिभि क्यामेरा, वडीवर्न क्यामरा, ड्रोनको प्रयोग, तालिम प्राप्त कुकुरहरू परिचालन तथा प्रहरी सञ्चार प्रणालीमार्फत रियल टाइम सूचना आदानप्रदान गरिनुका साथै सामाजिक सञ्जालहरूको निगरानी गरी सामाजिक सञ्जालमा प्रवाह हुने डिजिटल सूचनाको विश्लेषण गरी सुरक्षा व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन आवश्यक रूपमा प्रहरी परिचालन गरिने बताइएको छ ।

चाडपर्वको अवसरमा विभिन्न आकर्षक उपहार दिने भन्दै हुनसक्ने नक्कली अनलाइन सपिङ, अनलाइन ठगी, बैंकिङ ठगी, ओटिपी पिन र पासवर्ड मागेर हुन सक्ने फिसिङलगायतको डिजिटल आपराधिक गतिविधि नियन्त्रण गर्न आमनागरिकहरूलाई प्रहरीले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकालगायतका प्रमुख सहरमा सुरक्षा व्यवस्था मजबुद बनाउन मुख्य बजार तथा सपिङ मल र मार्ट, बैंक तथा वित्तीय संस्था, बसपार्क तथा सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिकस्थल, पर्यटकीयस्थल, मनोरञ्जनस्थल, मुख्य सडक तथा चोक, सहरका प्रवेश र निकास नाका, सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखी प्रहरी परिचालन गरिनेछ ।

चाडपर्वको जोखिम र स्थानीय सुरक्षा संवेदनशीलताको आधारमा कमाण्ड पोष्ट, क्यूआरटी परिचालन हुनेछन् । सीमानाकामा हुने अवैध गतिविधि, तस्करी र अवाञ्छित क्रियाकलाप रोक्न पैदल तथा मोबाइल गस्ती, ग्रामीण गस्ती, लोक मार्गमा क्रस पेट्रोलिङलाई अझै प्रभावकारी बनाउँदै लगिनेछ ।
साथै लामो समय घर छोडेर जाँदा झ्यालढोका, ग्यास तथा विद्युत् राम्रोसँग जाँच गर्न, घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, भीडभाडमा नगद, गरगहना तथा महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउन आम नागरिकलाई विशेष अनुरोध गरिएको छ ।

मादक तथा लागूपदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई भीडभाडमा एक्लै नछोड्न, जुवातास, अवैध सट्टेबाजी तथा लागूऔषधबाट टाढा रहनका साथै कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न समेत नेपाल प्रहरी विशेष अनुरोध गर्दछ ।

Skip This