सिंगापुरको अभूतपूर्व रूपान्तरण: आँसुबाट जन्मिएको आर्थिक उन्नतिको साम्राज्य

0
Shares

सन् १९६५ अगस्ट ९ को त्यो ऐतिहासिक बिहान केवल एउटा नयाँ देशको जन्मको कथा मात्र थिएन, अपमान, असफलता र अथाहा निराशाको एउटा भीषण बज्रपात पनि थियो । जब मलेसियाको संसद्ले एकपक्षीय निर्णय गर्दै सिंगापुरलाई आफ्नो भूभागबाट निष्कासन ग¥यो, तब ३२ वर्षका युवा नेता ली कुआन यु राष्ट्रिय टेलिभिजनमा देशवासीलाई सम्बोधन गर्दा भक्कानिएर रोएका थिए । ती आँसु केवल व्यक्तिगत पराजयका मात्र थिएनन्, आफ्नो काँधमा आइपरेको एउटा असम्भव चुनौतीका पनि थिए । न त पिउने पानीको आफ्नै स्रोत थियो, न खनिज, न कृषि, न त कुनै प्राकृतिक पूर्वाधार नै । सुकुम्बासी बस्तीको दुर्गन्ध, चरम बेरोजगारीको हाहाकार, ग्याङस्टरहरूको आपराधिक आतंक र रगतले लतपतिएका जातीय दंगाहरूले पिल्सिएको त्यो सानो दलदली टापुको भविष्य पूर्ण रूपमा अन्धकारको खाडलमा भासिएको थियो ।

संसारका ठूला–ठूला अर्थशास्त्री, राजनीतिज्ञ र कूटनीतिज्ञहरूले यो दुखी देश बढीमा ६ महिना पनि टिक्न नसकेर इतिहासको पानाबाट लोप हुने कठोर भविष्यवाणी गरेका थिए । आखिर कसैले सोचेका पनि थिएनन् कि जुन भूमि सन् १९४२ मा बेलायती साम्राज्यको अभेद्य मानिने किल्ला भत्किएर जापानी सेनाको अमानवीय उत्पीडन र नरसंहार (सुक चिङ) को शिकार बनेको थियो, जसलाई बेलायतले पुनः कब्जा गरेर पछि आफ्नो पन्छाएको थियो, र जुन मलेसियासँगको छोटो अनि तीतो एकता पछि यसरी लखेटिएको थियो, त्यसको पुनर्जन्म कसरी सम्भव होला ? तर, नियतिको त्यो कठोर प्रहार अगाडि ली कुआन यु र उनका निष्ठावान् सहयोगीहरूले घुँडा टेकेनन् । उनीहरूले अन्तर्राष्ट्रिय समुदायसामु हात फैलाएर भीख माग्ने कायरता रोजेनन्, बरु आफ्नै आँसुलाई ऊर्जामा बदलेर एउटा कठोर प्रतिज्ञा गरे ।

उनीहरूलाई राम्ररी थाहा थियो कि प्रशासनिक संयन्त्रमा भ्रष्टाचारको धमिरा रहँदासम्म कुनै पनि विदेशी लगानीकर्ताले यो मृतप्राय टापुमा विश्वासको बीउ रोप्ने छैनन् भनेर । त्यसैले, सिंगापुरले शून्य सहनशीलताको नीति अपनाउँदै भ्रष्टाचार नियन्त्रण अनुसन्धान ब्युरोलाई असीमित र सर्वशक्तिमान् अधिकार प्रदान ग¥यो । जब आफ्नै मन्त्रिमण्डलका नजिकका सहकर्मीहरू भ्रष्टाचारको दलदलमा भेटिए, ली कुआन युको हात अलिकति पनि कापेन । उनले आफ्ना प्रिय साथीहरूलाई समेत दया नदेखाई सिधै जेलमा जाँके । सरकारी कर्मचारीहरूलाई लोभ र भ्रष्टाचारबाट मुक्त राख्न उनीहरूको तलब संसारकै सर्वोच्च स्तरमा पु¥याइयो । कसैले राष्ट्रद्रोह वा घुसखोरी गरेमा उसको जीवनभरको नागरिक अधिकार खोसिने कठोर कानुन लागू गरियो ।

प्रकृतिको कुनै वरदान नपाएको यो देशले आफ्नो सबैभन्दा ठूलो भौगोलिक हतियार मलक्का जलडमरूमध्यलाई बनायो । संसारको एक–चौथाई व्यापार सञ्चालन हुने यस समुद्री मार्गलाई सफा र व्यवस्थित गरेर उनीहरूले विश्वकै अत्याधुनिक, प्रविधिमैत्री र विशाल बन्दरगाहको निर्माण गरे । पानीजहाजहरूलाई केही घण्टामै इन्धन भर्ने, सामान सुरक्षित राख्ने र प्रशासनिक प्रक्रिया चुस्त बनाउने वातावरण तयार गरिएपछि विश्वभरका व्यापारीहरू सिंगापुरकै बन्दरगाह प्रयोग गर्न बाध्य भए । यससँगै, देशले नातावाद, कृपावाद र राजनीतिक भागबण्डालाई जरैदेखि उखेलेर फ्याँकिदियो । राज्यका हरेक निकायमा केवल योग्यता, क्षमता र देशभक्ति भएका मानिसहरूलाई मात्र जिम्मेवारी दिइयो । बजेटको ठूलो हिस्सा प्राथमिक र प्राविधिक शिक्षामा खन्याइयो, जहाँ बालबालिकाहरूलाई गोतामारेर कण्ठ पार्ने शिक्षा होइन, आधुनिक दुनियाँका जटिल समस्याहरू हल गर्ने व्यवहारिक र प्राविधिक ज्ञान दिइयो । फलस्वरूप, आज सिंगापुरका विद्यार्थीहरू गणित र विज्ञानको विश्वव्यापी प्रतिस्पर्धामा सधैँ सर्वोच्च स्थानमा उभिने गर्छन् ।

आर्थिक क्रान्तिलाई तीव्र पार्न सिंगापुरले कर प्रणालीलाई विश्वकै सबैभन्दा सरल र न्यूनतम बनाइदियो । जुनसुकै विदेशी कम्पनीले २४ घण्टामै आफ्नो व्यवसाय दर्ता गरेर निर्बाध रूपमा काम सुरु गर्न सक्ने कानुनी सुशासन कायम गरियो । हडताल र राजनीतिक अशान्तिको पूर्ण अन्त्य गरिएपछि संसारभरका बहुराष्ट्रिय कम्पनीहरूका लागि सिंगापुर एउटा सुरक्षित स्वर्ग बन्यो । आवास विकास बोर्डमार्फत नागरिकहरूलाई व्यवस्थित र सुलभ आवासको ग्यारेन्टी गर्दै सामाजिक स्थिरता कायम गरियो । केवल केही दशकभित्रै, १९६५ को त्यो उराठलाग्दो, गरिब र तिरस्कृत टापु आज विश्वको अग्रणी वित्तीय, व्यापारिक र उड्डयन केन्द्रका रूपमा रूपान्तरण भयो । जसको प्रतिव्यक्ति आयले संसारका ठूला–ठूला धनी राष्ट्रहरूलाई समेत पछाडि पारिदिएको छ । आँसुबाट सुरु भएको सिंगापुरको यो अभूतपूर्व यात्राले संसारलाई एउटा कठोर सत्य सिकाएको छ । देश बनाउन प्राकृतिक साधन र स्रोत मात्र होइन, दृढ इच्छाशक्ति, निष्कलंक नेतृत्व र कडा अनुशासन पनि चाहिन्छ ।

Skip This