नेपाल क्लियरिङ हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को पन्ध्रौँ वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ। सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड ७२ लाख ८८ हजार २०० रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एनसीएचएलका भुक्तानी प्रणालीमार्फत २१० खर्ब रुपैयाँ बराबरका २३ करोड ८२ लाख कारोबार राफसाफ भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा कारोबारको संख्या र रकममा १३ प्रतिशत वृद्धि भएको छ भने सञ्चालन आम्दानी ७ प्रतिशतले बढेको छ।

यद्यपि, कम्पनीको खुद नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले घटेर ४१ करोड रुपैयाँ कायम भएको छ।

सभाले बैंकिङ, वित्तीय तथा भुक्तानीसम्बन्धी प्रविधिमा अनुसन्धान, सफ्टवेयर विकास तथा जडानलगायतका काम गर्ने उद्देश्यले छुट्टै सार्वजनिक लिमिटेड कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ। प्रस्तावित कम्पनीले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने प्रविधि तथा सफ्टवेयरको विकास र जडानमा काम गर्नेछ।

एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीका अनुसार नेपाल राष्ट्र बैंकसहित ५३ बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध छन् भने १५० भन्दा बढी गैरबैंकिङ संस्था अप्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा जोडिएका छन्।

कम्पनीले राष्ट्रिय तथा अन्तरदेशीय भुक्तानी र कारोबार राफसाफसम्बन्धी विभिन्न प्रणाली तथा उपकरण सञ्चालन गर्दै आएको छ।