काठमाडौं ।
परमात्माबाट शक्ति, साहस र आत्मबल प्राप्त होस् भन्ने उद्देश्यले आयोजित सामूहिक प्रार्थना सभाको औपचारिक शुभारम्भ दीप प्रज्वलन गरी गरिएको छ।
काठमाडौं महानगरपालिकाका नगर प्रमुख सुनिता डंगोल र प्रार्थना सभाकी परिकल्पनाकार वरिष्ठ गायिका एवं समाजसेवी आनी छ्योइङ डोल्माले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, मनोज गजुरेललगायत कलाकार तथा गुरुजनको सहभागिता रहेको थियो।

मानवता, करुणा, सहकार्य र सेवाभावलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सभामा कठिन परिस्थितिमा परेका तथा सहयोग र सहाराको आवश्यकता भएका व्यक्तिहरूलाई साथ दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा आनी छ्योइङ डोल्मा फाउन्डेसन र मानवसेवा आश्रमले असहज परिस्थितिमा रहेका आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको सेवाका लागि गर्दै आएका प्रयास समेटिएको करिब तीन मिनेटको भिडियोसमेत प्रस्तुत गरिएको थियो।

सामूहिक प्रार्थनामार्फत दुःख र कठिनाइमा रहेका व्यक्तिहरूलाई आत्मबल प्रदान गर्ने, मानवीय एकता अभिवृद्धि गर्ने र सेवाभावलाई थप सशक्त बनाउने सन्देश दिन खोजिएको आयोजकले जनाएको छ।











प्रतिक्रिया