देवरको कुटपिटबाट भाउजुको मृत्यु


गुल्मी ।

गुल्मीमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी भाउजुको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिका–२, खोलाखर्कमा मादक पदार्थ सेवन गरी कुटपिट गर्दा ४२ वर्षीया लिला खत्रीको मृत्यु भएको हो।

प्रहरीका अनुसार सोही ठाउँका ४६ वर्षीय बलबहादुर खत्रीले मादक पदार्थ सेवन गरी लिलामाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको थियो।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौदीअमराईबाट खटिएको टोलीले घाइतेलाई उपचारका लागि अस्पताल पठाएको थियो। घटनामा संलग्न रहेको आरोपमा बलबहादुर खत्री र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार बुधबार बिहान करिब ११ बजे लिलालाई उनका छोरा हिराबहादुर खत्रीले अस्पतालबाट घर लैजाने क्रममा बाटोमा शंका लागेपछि दिउँसो करिब १२ः३० बजे जिल्ला अस्पताल गुल्मी, तम्घासमा जाँच गराएका थिए।

जाँचका क्रममा दिउँसो करिब २ बजे चिकित्सकले लिलालाई मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।