काठमाडौं ।
नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाका अनुसार स्वदेश फर्किएका प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।
बेलायत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाका उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए। उनले बेलायती सेनाका सेनाध्यक्षसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गरी दुई देशबीचको सैनिक सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमणसमेत गरेका थिए। सो अवसरमा उनले अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षण गरेका थिए।
उक्त अभ्यासमा स्वर्ण पदक प्राप्त गर्न सफल नेपाली सैनिक टोलीका सकलदर्जालाई प्रधान सेनापति सिग्देलले ‘प्रधान सेनापति प्रशंसा निशान’बाट सुशोभित गरेका थिए।
नेपाली सेनाले यस किसिमको उच्चस्तरीय सैनिक भ्रमणले नेपाल र बेलायतबीच सदियौँदेखि कायम रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहेको सैनिक सहकार्यलाई निरन्तरता दिन तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउन प्रधान सेनापतिको भ्रमण महत्त्वपूर्ण रहेको नेपाली सेनाले जनाएको छ।











प्रतिक्रिया