सीनद्वारा भोटेकोशी–त्रिशूलीका क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माणसम्बन्धी अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण


काठमाडौं

भोटेकोशी–त्रिशूली विपद्बाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माण र भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) ले तयार पारेको अध्ययन प्रतिवेदन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठलाई बुझाएको छ।

सीनले आफ्नो ३१औँ वार्षिक साधारणसभाको अवसरमा रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा उक्त अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । सीनको ‘Post-Disaster Recovery and Resilience of Projects Affected by the Bhotekoshi Flood Disaster’ शीर्षकको सो प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठलाई बुझाउने कार्यक्रम रहेको थियो। मन्त्री कार्यक्रममा उपस्थित नभएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठमार्फत प्रतिवेदन बुझाइएको हो। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थिति रहेको उक्त कार्यक्रममा जलविद्युत् विज्ञ इन्जिनियर लक्ष्मण अर्यालले भोटेकोशी–त्रिशूली विपद्बाट प्रभावित आयोजनाको पुनरुत्थानसम्बन्धी प्रस्तुति दिएका थिए।

सीनले प्रतिवेदनमा समेटिएका सुझावको अध्ययन गरी उर्जा मन्त्रालयले प्रभावित जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा भविष्यमा विपद् सामना गर्न सक्ने क्षमता अभिवृद्धिका लागि आवश्यक कदम चाल्ने अपेक्षा गरेको छ। विपदबाट प्रभावित जलविद्युत् आयोजनाको पुनरुत्थान, पुनर्निर्माण र दीर्घकालीन उत्थानशीलताका विषयमा ऊर्जा क्षेत्रका विज्ञहरूसँग छलफल गरी तयार पारिएको उक्त प्रतिवेदनमा समेटिएका सुझावले प्रभावित आयोजनाको पुनर्निर्माणलाई व्यवस्थित बनाउन तथा आगामी दिनमा यस्ता विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीले जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएपछि प्रभावित आयोजनाको पुनर्निर्माण र भविष्यमा सम्भावित जोखिम सामना गर्न सक्ने संरचना निर्माणको विषय महत्त्वपूर्ण बनेको जिकीर गर्दै सीनका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले यस्तो अवस्थामा क्षतिको मूल्याङ्कन, पुनर्निर्माणको प्राथमिकता निर्धारण र प्राविधिक रूपमा सुरक्षित संरचना निर्माणमा विज्ञहरूको सुझाव उपयोगी हुने धारणा व्यक्त गरेका छन्।

जलविद्युत् आयोजनाको पुनर्निर्माणलाई क्षतिग्रस्त संरचना पुरानै अवस्थामा फर्काउने काममा मात्र सीमित नराखी भविष्यमा बाढी तथा अन्य प्राकृतिक विपद्बाट हुन सक्ने क्षति कम गर्ने उपायसमेत समेट्नुपर्ने आवश्यकता छ। आयोजनाको भौगोलिक अवस्था, नदीको बहाव, बाढीको जोखिम र संरचनागत अवस्थालाई ध्यानमा राखेर पुनर्निर्माणको योजना बनाउनु महत्त्वपूर्ण हुन्छ। विपद्पछिको पुनर्निर्माणमा ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, आयोजना प्रवर्द्धक र प्राविधिक निकायबीच समन्वय आवश्यक हुन्छ। विज्ञहरूले तयार पारेका सुझावलाई कार्यान्वयनयोग्य योजनामा रूपान्तरण गर्न सके प्रभावित आयोजनाको पुनर्निर्माणलाई प्रभावकारी बनाउन सहयोग पुग्न सक्छ।