काठमाडौं ।
लामो समय सुस्त रहेको बैंकिङ समूहको सेयरमा पछिल्लो समय उल्लेख्य वृद्धि देखिएको छ । डेढ महिनाको अवधिमा बैंकिङ समूहको सूचक ९.१२ प्रतिशतले बढ्दा केही बैंकका लगानीकर्ताले २३ प्रतिशतसम्म नाफा कमाएका छन् ।
भदौ १५ गते १ हजार ४१४ अंकमा रहेको बैंकिङ समूहको सूचक बढेर १ हजार ५४३ अंक पुगेको छ । सोही अवधिमा नेप्से परिसूचक भने ३.४ प्रतिशत मात्रै बढेको छ । बैंकिङ समूहको सूचक गत चैत १२ यताकै उच्च विन्दुमा पुगेको हो ।
विगतमा सेयर आपूर्ति धेरै भएका कारण वाणिज्य बैंकको सेयर मूल्य नबढ्ने गुनासो लगानीकर्ताले गर्दै आएका थिए । तर पछिल्लो डेढ महिनामा बैंकिङ समूहले समग्र बजारभन्दा राम्रो प्रदर्शन गरेको छ ।
सिद्धार्थ, एभरेस्ट, नबिल, सानिमा, ग्लोबल आईएमई, माछापुच्छ्रे, सिटिजन्स र कुमारी बैंकका घोषित लाभांश मूल्यमा समायोजन भइसकेका छन् । लाभांश समायोजनपछि पनि सेयर मूल्य बढ्दा लगानीकर्ताले लाभांशसँगै मूल्यवृद्धिबाट समेत प्रतिफल पाएका छन् ।

किन चम्कियो बैंकिङ समूहको सेयर ?
बैंकिङ समूहका सेयरमा लगानीकर्ताको आकर्षण बढेसँगै यो समूहले सेयर बजारमा राम्रो प्रदर्शन गर्न थालेको छ। तुलनात्मक रूपमा सस्तो सेयर मूल्य, न्यून पीई रेसियो, आकर्षक लाभांश र ब्याजदरमा आएको गिरावटले बैंकिङ क्षेत्रमा लगानी बढाएको हो।वाणिज्य बैंकका सेयर मूल्य तुलनात्मक रूपमा कम हुनु, नियमित लाभांशको सम्भावना र संस्थागत लगानीकर्ताको आकर्षणले बैंकिङ समूहलाई थप बल दिएको छ।
साथै, निष्क्रिय कर्जा अब थप नबढ्ने र पुरानो कर्जा तथा ब्याज असुली बढ्दै जाने अपेक्षाले पनि लगानीकर्ताको विश्वास बढाएको छ।त्यस्तै, जलविद्युत् क्षेत्रमा देखिएको सुस्तता र केही आयोजनामा भएको क्षतिका कारण अन्य समूहबाट बैंकिङतर्फ लगानी मोडिँदा यो समूह थप आकर्षित बनेको लगानीकर्ताहरूको भनाइ छ।
बैंकहरूलाई सेयर तथा डिबेन्चरमा गरिएको लगानी ४५ दिनपछि बिक्री गर्न पाउने व्यवस्थाले पनि नाफा वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया