काठमाडौँ।
गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ७१३ युनिट रगत संकलन गरेको छ। बैंकले वार्षिकोत्सवकै अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने नौ शाखालाई सम्मान गर्नुका साथै विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ।
बैंकले सोमबार (मंसिर ७ गते) काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
रक्तदान कार्यक्रमबाट संकलित रगतले आवश्यकतामा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदानलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
यसैबीच, बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने नौवटा शाखा कार्यालयलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बन्धित शाखाका प्रमुखहरूलाई सम्मान गरिएको बैंकले जनाएको छ।
त्यसैगरी, बैंकले वार्षिकोत्सवको अवसर पारेर मंसिर ५ गते ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित तेस्रो संस्करणको ‘गरिमा रोड रेस २०८३’ समेत सम्पन्न गरेको थियो। काठमाडौंमा आयोजित उक्त दौड प्रतियोगितामा एक हजार चार सयभन्दा बढी धावक सहभागी भएका थिए।
स्वस्थ जीवनशैली, शारीरिक सक्रियता र खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलकुदमार्फत सकारात्मक सामाजिक सन्देश प्रवाह गरेको बैंकको विश्वास छ।
स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने सेवाग्राही, शेयरधनी, नियामक निकाय, सञ्चारमाध्यम, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।








तपाईंको विचार लेख्नुहोस्