टेनिस खेलाडी अभिषेक बास्तोला ग्रान्डस्लाम प्रतियोगिताको छनोट चरणमा वाइल्डकार्ड पाउने नेपालका पहिलो खेलाडी हुन् । पोखरेली खेलाडी अहिले चीनमा अस्ट्रेलियन ओपन २०२७ को एसिया–प्यासिफिक वाइल्डकार्ड प्लेअफमा प्रतिस्पर्धा गर्दैछन् । यो प्रतियोगिता नोभेम्बर २३ देखि २८ सम्म २८ चीनको छेङ्दुस्थित सिचुआन इन्टरनेसनल टेनिस सेन्टरमा हुनेछ ।
छनोट चरणमा आठ खेलाडी छन् । अभिषेकसहित चार जनाले वाइल्डकार्ड पाएका हुन् भने अन्य चार जनाले वरीयताका आधारमा स्थान पाएका हुन् । यो छनोटबाट चार खेलाडीले अर्को चरणमा मुख्य प्लेअफमा प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त प्लेअफमा विजेता बन्ने खेलाडीले आगामी जनवरीमा हुने अस्टे«लियन ओपन टेनिस प्रतियोगितामा खेल्न पाउनेछन् । विजेता बनेमा अभिषेकले नेपाली टेनिसको इतिहासमा स्वर्ण अक्षरले पाना भर्नेछन् ।
टेनिस खेलाडीको करिअर ग्रान्डस्लाम खेलेविना अधुरै रहने गर्दछ । विश्वका हरेक टेनिस खेलाडीको एकपटक भएपनि ग्रान्डस्लाम प्रतियोगिता खेल्ने इच्छा हुन्छ । अहिले अभिषेक र नेपाली टेनिसका लागि ग्रान्डस्लाम प्रतियोगितामा पुग्ने अवसर आएको छ ।
अभिषेकका बुबा अनुजकुमार र आमा पद्मा दुवै ब्याडमिन्टनका पूर्वराष्ट्रिय खेलाडी हुन् । आठ वर्षको उमेरमा टेनिस खेल्न थालेका अभिषेकलाई उनका बुबाले घरको ग्यारेजमै अभ्यास गर्ने व्यवस्था मिलाइदिए । यहीबाट उनको टेनिस खेलमा रुचि बढ्दै गयो ।
सन् २०१२ मा अभिषेक प्रशिक्षण र छात्रवृत्तिको अवसर खोज्दै थाइल्यान्ड पुगेका थिए । उनले १६ वर्षमुनिको प्रतियोगितामा फाइनलसम्म पुगेर एकेडेमीको छात्रवृत्ति पाएका थिए । यही क्रममा उनले कक्षा ९ र १० को पढाइ थाइल्यान्डमै पूरा गरेका थिए ।
सन् २०१३ मा चीनको नान्जिङमा आयोजित एसियाली युवा खेलकुदमा टेनिसतर्फ नेपालको प्रतिनिधित्व गर्ने उनी पहिलो पुरुष खेलाडी बने । त्यहाँ उनले राम्रै प्रदर्शन गरेका थिए । त्यसको एक वर्षपछि दक्षिण कोरियाको इन्चोनमा पहिलो एसियाली खेलकुद खेले ।
त्यसयता अभिषेकले जाकार्ता–पालेम्बाङ (२०१८), हाङझाउ (२०२३) र आइची–नागोया (२०२६) मा खेले । यसरी उनी चार संस्करणका एसियाली खेलकुदमा सहभागी हुने पहिलो नेपाली टेनिस खेलाडी समेत बने । पछिल्लो संस्करणमा उनले प्रदीप खड्कासँग मिलेर पुरुष युगलको पहिलो खेल जितेका थिए ।
सन् २०१६ मा अमेरिकाको मायामीस्थित एएसए कलेजबाट उनको कलेज टेनिस यात्रा सुरु भयो । सन् २०१७ मा एसोसिएट डिग्री पूरा गरेपछि उनी युनिभर्सिटी अफ टेक्सास एट आर्लिङ्टनमा आबद्ध भए । त्यहाँ अमेरिकी विश्वविद्यालय खेलकुदको उच्च तह एनसीएए डिभिजन–१ मा टेनिस खेल्ने पहिलो नेपाली बने ।
सन् २०१८ मा छात्रवृत्तिमा क्यालिफोर्नियाको सेन्टमेरिज कलेज पुगेका अभिषेकले सोही वर्ष एगी इन्भिटेसनलको एकल उपाधि जिते । सन् २०२३ मा उनी अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) को विश्व वरीयतामा प्रवेश गरे । यस विश्व वरीयतामा पुग्ने उनी पहिलो नेपाली पुरुष खेलाडी हुन् ।
त्यही वर्ष डेभिस कपमा खेल्दा अभिषेकले पहिलो जित दिलाए । उनले कतारका तत्कालीन शीर्ष खेलाडी मुबारक शन्नान जायिद अल–हर्रासीलाई हराएका थिए । यो पहिलोपटक नेपालको डेभिस कपमा सहभागिता थियो । उनले त्यसपछि यमन र माल्दिभ्सविरुद्ध पनि एकल खेल जिते ।
सन् २०२३ र २०२४ का दुई संस्करणमा खेलेका सबै छ एकल खेल जितेका अभिषेकले युगलतर्फ एक जित निकालेका थिए । डेभिस कपमा नेपाली खेलाडीले हासिल गरेको सर्वाधिक सात जितको कीर्तिमान पनि बन्यो । यसरी उनी कीर्तिमानसँग पनि जुध्यो । आईटीएफले उनको पहिलो जित र कीर्तिमान दुवैको लिखित पुष्टि गरेको छ ।
व्यावसायिक टेनिसमा यूटीआर प्रो टेनिस टुर खेल्नेमा अभिषेक एकमात्र नेपाली खेलाडी हुन् । उनले उक्त टुरमा जित हासिल गरे । सन् २०२४ मा अमेरिकाको इन्डियन वेल्समा आयोजित बीएनपी पारिबास ओपनमा आधिकारिक अभ्यास सहयोगी बन्ने उनी पहिलो नेपाली थिए ।
सन् २०२५ मा त्यही प्रतियोगितामा अभिषेकले सर्बियाका लिजेन्ड टेनिस खेलाडी नोभाक जोकोभिचसँग अभ्यास गर्न मौका पाए । त्यहाँ नै उनले स्पेनका उदीयमान खेलाडी कार्लोस अल्काराजलाई भेट्ने अवसर जुट्यो । गत सेप्टेम्बर २०२६ मा भियतनाममा एटीपी च्यालेन्जर टुरको छनोट चरण खेल्ने पहिलो नेपाली पनि उनी नै बने ।
सरकारको ध्यान जानु पर्यो
विश्व टेनिसमा कदम चालिरहेका अभिषेकका लागि सरकारको ध्यान जानु पर्ने भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न त्यति सजिलो छैन । यसमा यात्रा गर्नु प¥यो, किट्सहरू किन्नु प¥यो, खेलअवधिभर बसोबासको व्यवस्थापन गर्नु पर्ने हुन्छ । यसका लागि आर्थिक रूपमा जति नि सबल भएपनि खर्च गर्न सकिने अवस्था हुँदैन । यसैले सरकारले केही आर्थिक सहयोग गरेमा अभिषेक जस्ता खेलाडीका लागि ठूलो राहत मिल्नेछ ।








तपाईंको विचार लेख्नुहोस्