हुरिबतासका कारण अचानक बत्ती निभेपछि एकछिन सिंगो कोठा अँध्यारोमा डुबेको थियो । भुइँमा राखिएको सिरानीमाथि ब्याट्री सकिन लागेको ल्यापटप थियो । त्यही ल्यापटपअगाडि अनलाइन चेसमा गम्भीर आठ वर्षका एक बालक सास रोकेर बसेका थिए । स्क्रिनमा उनका प्रतिद्वन्द्वी थिए विश्व वरीयताका सातौँ नम्बरका जर्मन ग्रान्डमास्टर भिन्सेन्ट किमर । ब्याट्री सकिनुअघि नै खेल जित्नुपर्ने त्यो दौडमा तमिलनाडुका तमिल अमुधनले संसारलाई स्तब्ध पार्ने जित निकाले । अहिले नौ वर्ष टेकेका फिडे क्यान्डिडेट मास्टर तमिलले एक वर्षभित्र विश्वकै कान्छो ग्रान्डमास्टर र दुई वर्षभित्र विश्वकै कान्छो विश्व च्याम्पियन बन्ने लक्ष्य राखेका छन् ।
सन् २०१७ मा तमिलनाडुको कल्लाकुरिचीमा जन्मिएका तमिलले चार वर्षको उमेरमै दाजुदिदीको खेल हेरेर गोटी चाल्न सिके । जिल्लास्तरीय प्रतियोगितामा खेल्ने उनको जिद्दीलाई गणितमा अब्बल र निजामती परीक्षामा नवौँ स्थान ल्याएका बुबा सतीशले सुरुमा रोके । ठूला केटाकेटीसँग खेल्दा छोरालाई लाज होला भन्ने उनको चिन्ता थियो । तर, चार वर्षका तमिलले ३२ वर्षीय बुबालाई नै चेस बोर्डमा हराइदिएपछि सतीशसँग हार मान्नुको विकल्प रहेन । त्यही प्रतियोगितामा तमिलको खेल देखेर प्रभावित एक बस कन्डक्टर, जो चेस प्रशिक्षक पनि थिए, उनलाई निःशुल्क सिकाउन थाले । मिखाइल तालको आक्रामक शैलीबाट प्रेरित तमिलले ‘एथेन्स अफ द इस्ट’ प्रतियोगितामा दोस्रो भएर पुरस्कारमा कार जिते । सन् २०२६ को उत्तरार्धसम्म उनको स्ट्यान्डर्ड इलो रेटिङ २०५० पुगेको छ ।
यो एकजना बालकको मात्र कथा होइन, एउटा राष्ट्रको पुनर्जागरणको कथा पनि हो । छैटौँ शताब्दीमा भारतमै ‘चतुरंग’ का रूपमा जन्मिएको खेलले शताब्दीयौँ रुस र अमेरिकाको दबदबा भोग्यो । सन् १९८८ मा विश्वनाथन आनन्द भारतका पहिला ग्रान्डमास्टर बनेपछि सुरु भएको भारतीयहरूको चेस क्रान्तिले आज आर. प्रग्नानन्द र अर्जुन एरिगाइसीजस्ता खेलाडी जन्माएको छ । सन् २०२४ मा गुकेश डोम्माराजुले मात्र १८ वर्षको उमेरमा चीनका डिङ लिरेनलाई हराउँदै विश्वकै कान्छो विश्व च्याम्पियन बनेर इतिहास रचे । पाँच पटकका विश्व च्याम्पियन तथा विश्व नम्बर एक म्याग्नस कार्लसनले भारतलाई ‘विश्वकै उत्कृष्ट चेस देश’ भन्दै यहाँको युवा लहरदेखि चकित भएको स्विकारेका थिए ।
अहिले यो क्रान्तिको नयाँ केन्द्र बनेको छ शिवकाशी सहर । जुन सहर भारतको ९० प्रतिशत पटाका उत्पादन हुने सहरका रूपमा परिचित छ । आकाशमा आतिशबाजी छर्ने यस सहरमा अहिले चेसको बोर्डमा मौन तर शक्तिशाली विस्फोट भइरहेको छ । यहीँको भारतको पहिलो आवासीय चेस प्रशिक्षण केन्द्र ‘हटसन चेस एकेडेमी’ मा तमिलजस्ता करिब ५० बालबालिका हरेक हप्ता सोमवारदेखि शुक्रवारसम्म विश्व च्याम्पियन बन्ने साधनामा लागेका छन् । बाल्यकालमा गुकेशलाई सिकाएका विष्णु प्रसन्नाको निगरानीमा चल्ने यो एकेडेमीमा आफ्नो उमेर समूहको राष्ट्रिय शीर्ष ३० भित्र परेकाले मात्र आवेदन दिन पाउँछन्, र एक महिनाको कडा परीक्षापछि मात्र छनोट हुन्छन् । यहाँ औपचारिक विद्यालयको पढाइभन्दा चेसलाई प्राथमिकता दिइन्छ । तमिलका अरू विषय आमा उमा घरमै पढाउँछिन् । तमिलमा बोर्डका लामा ज्यामितीय रेखा देख्ने यस्तो प्राकृतिक अन्तज्र्ञान छ, जुन उनको उमेरका बालबालिकालाई सिकाउन लगभग असम्भव छ।

तर, हरेक चमकको पछाडि अदृश्य त्यागको लामो श्रृंखला हुन्छ । सन् २०२४ मा तमिलले एकेडेमीमा छात्रवृत्ति पाएपछि आमा उमा सुखसयल र स्थिर जीवन छोडेर करिब २२५ माइल टाढा शिवकाशी सरिन् । एक वर्षभन्दा लामो समय परिवार दुई ठाउँमा बाँडियो । आमा र छोरा शिवकाशीमा संघर्ष गरे भने बुबा सतीश १० वर्षीया छोरीसँग पुरानै सहरमा बसे । महिनामा दुईपटक उमा छोरालाई लिएर प्रतियोगिताका लागि रातारात जोखिमपूर्ण यात्रा गर्थिन् । एकेडेमीमा छ महिनामै तमिलले चार वर्ष बराबरको प्रगति गरेको देखेपछि गत अक्टोबरमा सतीशले पनि आफ्नो पुरानो सरकारी जागिर छोडे र परिवारलाई एकै ठाउँ ल्याउन शिवकाशीमै नयाँ काम सुरु गरे । भिडिओ गेम र टेलिभिजनमा रुचि नराख्ने तमिलले साथीभाइ र गाउँको स्वतन्त्र बाल्यकाल पछाडि छोडेका छन्, तर थाकेको गुनासो कहिल्यै गरेका छैनन् ।
नेपालका लागि यो घटना एउटा प्रेरणादायक ऐना हो । छिमेकमा चमत्कार भइरहँदा हामीकहाँ अझै औपचारिक ग्रान्डमास्टर वा इन्टरनेसनल मास्टरको खडेरी छ । यद्यपि, फिडे मास्टर विवेक थिङ, रूपेश जैसवाल, कृतिसरा अधिकारी र ओलम्पियाडजस्ता विश्वमञ्चमा कम उमेरमै अनुभव बटुल्दै गरेका एन्जल महर्जन र निहाना श्रेष्ठले नयाँ आशा जगाएका छन् । सीमित स्रोत, प्रशिक्षकको अभाव र कम प्रतियोगितासँग जुधिरहेका हाम्रा खेलाडीलाई तमिलले दुई पाठ दिन्छन् । पहिलो, अभिभावकले ‘पढाइ बिग्रेला’ वा ‘भविष्य के होला’ भन्ने संकुचित डरभन्दा माथि उठेर सन्तानको असाधारण प्रतिभा समयमै चिनी साथ दिनुपर्छ । दोस्रो, खेलाडीले ‘हामी सानो देशका’ वा ‘विपक्षी बलियो’ भन्ने हीनताबोध त्यागेर अनुशासित अभ्यास र अटल आत्मविश्वासका साथ बोर्डमा उत्रिनुपर्छ । किनकि चेसको ६४ कोठे संसारमा उचाइ वा आकार होइन, तीक्ष्ण बुद्धि र साहसले जित दिलाउँछ ।








तपाईंको विचार लेख्नुहोस्