नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा देब्रे हाते तीव्रगतिका बलर रिजन ढकालले दुई अवार्ड जित्दा हेटौंडामा खुशी छाएको छ । गृहनगर हेटौंडा–५ का २७ वर्षीय रिजनले ओमोडाको कार र पल्सर बाइक पाएका हुन् ।
क्वालिफायर–२ मा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि हेटौडाका रिजनका हेटौडाका समर्थकहरू र टिम चितवन खुशी थिएनन् । तर, फाइनलपछिको रात भने उनको व्यक्तिगत जीवनका लागि स्मरणीय रह्यो ।
प्रतियोगितामा उत्कृष्ट नेपाली खेलाडी घोषित रिजनले सर्वाधिक विकेटकर्ताको गोल्डेन क्यापसमेत जिते । उनले प्रतियोगिताभर उत्कृष्ट बलिङ गर्दै कुल १७ विकेट लिएका थिए । चितवनलाई प्लेअफसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका उनले गाडी पाएका हुन् ।
रिजनले विजेता सुदूरपश्चिमका स्कट कुगेलेइनलाई पछि पारेका हुन् । न्युजिल्यान्डका बलर कुगेलेइनले १० खेलमा १५ विकेट लिएका थिए । सर्वाधिक विकेटकर्ताको अवार्डसँगै उनले २ लाख रुपियाँ पुरस्कार पाए । यसरी उनले व्यक्तिगत दुई अवार्डसँगै ठूलो पुरस्कार हात पारे ।
रिजनले उत्कृष्ट बलर घोषित हुँदै पल्सर मोटरसाइकल पनि जिते । प्रतियोगितामा निरन्तर प्रभावशाली बलिङ गरेका रिजनले विपक्षी टोलीका ब्याटरलाई दबाबमा राख्दै आफ्नो टोलीको सफलतामा महत्वपूर्ण योगदान दिएका थिए ।
उनी पहिलो सिजनदेखि नै चितवन राइनोजबाट एनपीएल खेल्दै आएका छन् । यस सिजन उनले आठ खेलमा २७ ओभर बलिङ गर्दा औसतमा ९.८८ को इकोनोमी कायम गरे ।
उनको चितवन यस सिजन क्वालिफायर्स–२ मै सीमित भएको थियो । सुदूरपश्चिम रोयल्ससँग तीन विकेटको हार व्यहोरेपछि टोली फाइनल पुग्न चुकेको थियो । ‘तेस्रो संस्करणमा म पूरै तयारीसाथ आएको थिएँ,’ उनले भने–दोस्रो संस्करणमा इञ्जुरीका कारण सबै खेल खेल्न सकिनँ । मेरो सफलताको श्रेय म आफ्ना अभिभावक आमाबुबालाई दिन चाहन्छु । बाइक पुरस्कार पाइन्छ भन्ने लागेको थियो । नयाँ र पुरानो बाइक बिक्री गरेर बुलेट किन्ने सोच बनाएको थिएँ, कार नै पाएँ,’ ।
‘राष्ट्रिय टोलीमा रहेका खेलाडीमात्र होइन, घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका नयाँ खेलाडीलाई समेत प्रतियोगिताले आफ्नो क्षमता देखाउने अवसर दिएको छ,’ उनले विदेशी खेलाडीहरुसँग एउटै टोलीमा रहेर खेल्दा नेपाली खेलाडीले प्राविधिक, रणनीतिक र मानसिकलगायत विविध पक्षमा सिक्ने अवसर पाएको बताए । उनले विशेषगरी दबाबमा खेल्ने क्षमता, पावर हिटिङ, डेथओभर बलिङ र फिल्डिङमा अन्तर्राष्ट्रिय खेलाडीको अनुभव उपयोगी हुनसक्ने सुनाए।
रिजनले गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्दै नेपालको टोलीमा स्थान बनाएका थिए । बायाँ हाते बलर हुँदा उनलाई नेपालले टोलीमा स्थान बनाउन थप सहज भएको थियो । उनले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्।
रिजनले प्रधानमन्त्री कपमा ९ खेलमा १५ विकेट लिएका थिए । त्यही प्रदर्शनका आधारमा राष्ट्रिय टिममा स्थान बनाएका रिजनले सिनियर टिमबाट डेब्यु गरेका हुन् । एनपीएलमा क्याटगोरी ‘ए’ मा रहेका उनलाई चितवनलले अनुबन्ध गरेको थियो ।
२०८१ मा नेपाल प्रिमियर लिग (एनपीएल) मा रिजनलाई न्यूनतम मूल्य १० लाखमा चितवन राइनोजले किनेको थियो । अन्य टिमले रिजनका लागि इच्छा नै देखाएका थिएनन् । उनी अक्सनमा बिक्री हुने पहिलो खेलाडी बनेका थिए ।
नियमानुसार श्रेणी ‘ए’ का खेलाडीको न्यूनतम मूल्य १० लाख र उच्चतमको १५ लाख रुपियाँ हुन्छ । चितवनलाई दुवै संस्करणमा रिजनले सुरुआती सफलता दिलाएका थिए । यसैले उनी पावरप्लेमा टोलीका निम्ति उपयुक्त रोजाइ बनेका हुन् ।
सन् २०२४ मा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमतीबाट खेलेका रिजनले नौं खेलमा १५ विकेट लिए । उक्त प्रदर्शनले उनलाई राष्ट्रिय टिमको ढोका खोलिदियो ।
रिजनले सोही वर्ष क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा खेल्ने मौका पाएका थिए । उनले डेब्युमै विकेट लिएका थिए । घरेलु प्रतियोगितामा अब्बल प्रदर्शनका कारण उनी एनपीएलसम्म पुगेका हुन् ।








तपाईंको विचार लेख्नुहोस्