काठमाडौं ।
दसैंलाई लक्षित गरी काठमाडौं उपत्यकामा सञ्चालन गरिएको विशेष ट्राफिक चेकजाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १४९ जना र लागूऔषध सेवन (लापसे) गरी सार्वजनिक सवारी चलाउने ९ जना चालक कारबाहीमा परेका छन्। घटस्थापनादेखि २०८३ असोज २७ गते अपराह्न ५ बजेसम्म सञ्चालन गरिएको विशेष चेकजाँचका क्रममा ट्राफिक प्रहरीले विभिन्न कसुरमा सवारी चालकलाई कारबाही गरेको हो। प्राप्त विवरणअनुसार यान्त्रिक अवस्था ठीक नभएका ६० वटा सार्वजनिक सवारी साधन र तीव्र गतिमा चलाइएका ७६ वटा सवारी साधनमाथि कारबाही गरिएको छ।
त्यसैगरी, मापसे गरी सवारी चलाउने १४९ जनामध्ये ९ जना सार्वजनिक सवारीका चालक रहेका छन्। लागूऔषध सेवन गरी सार्वजनिक सवारी साधन चलाउने ९ जना चालकलाई समेत कारबाही गरिएको छ। दसैंको समयमा यात्रुको चाप बढ्ने र सवारी दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले ट्राफिक प्रहरीले उपत्यकामा विशेष चेकजाँच सञ्चालन गरेको हो।
ट्राफिक नियमको पालना, सवारी साधनको यान्त्रिक अवस्था जाँच तथा मादक पदार्थ र लागूऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न गरिएको यस अभियानले सडक सुरक्षालाई प्राथमिकता दिएको छ। सुरक्षित यात्राका लागि चालकले ट्राफिक नियमको पूर्ण पालना गर्न, सवारी साधनको अवस्था दुरुस्त राख्न र मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी नचलाउन प्रहरीले आग्रह गरेको छ।











प्रतिक्रिया