काठमाडौं ।
लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौं उपत्यकाबाट ३०० ग्राम लागूऔषध हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। ब्युरोका अनुसार भारतबाट वीरगञ्जको रक्सौल नाका हुँदै काठमाडौंमा लागूऔषध आपूर्ति भइरहेको सूचनाका आधारमा निगरानी तथा अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको हो।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शंकास्पद अवस्थामा फेला परेका व्यक्तिलाई रोक्दै जाँच गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यसपछि नियन्त्रणमा लिइएका वीरगञ्ज महानगरपालिका–३१ निवासी ४४ वर्षीय बासुदिन मियाँको साथबाट ३०० ग्राम लागूऔषध हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ।
उनको साथबाट दुई थान मोबाइल फोनसमेत बरामद भएको छ। प्रहरीका अनुसार मियाँ विगत तीन महिनादेखि २०० ग्रामदेखि ६०० ग्रामसम्मका दरले ७६ पटक लागूऔषध हेरोइन ओसारपसार गरेको अनुसन्धानबाट खुलेको छ। लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार हेरोइनजस्ता लागूऔषधको अवैध कारोबारमा संलग्न व्यक्तिलाई परिमाण र कसुरअनुसार कैद तथा जरिवानाको व्यवस्था छ। बरामद लागूऔषधको स्रोत, ओसारपसारमा संलग्न अन्य व्यक्ति र सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया