लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा


काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायक पशुपति शर्मा निर्वाचित भएका छन्। प्रतिष्ठानको नवौँ महाधिवेशनबाट शर्मा अध्यक्षमा चयन भएका हुन्। उनी यसअघि प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष थिए।

त्यस्तै, महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले यसको जानकारी दिएका हुन्।

बिहीबार मधेस प्रदेशको बर्दिबास नगरपालिका–३, गौरीडाँडामा सुरु भएको महाधिवेशनको उद्घाटन मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले गरेका थिए। उद्घाटन सत्र सकिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो।

प्रतिष्ठानको केन्द्रीय समिति ७५ सदस्यीय रहने व्यवस्था छ। जसमा ३८ पदाधिकारी र ३७ सदस्य रहनेछन्। केही पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अन्य पदका लागि शुक्रबार विद्युतीय मतदान भएको निर्वाचन समितिले जनाएको छ।

मतदानको परिणाम शनिबार महाधिवेशनको समापन समारोहमा सार्वजनिक गरिने जनाइएको छ।

महाधिवेशनमा सातै प्रदेश, ७० जिल्ला तथा विदेशस्थित शाखासहित १०० वटा समितिबाट करिब एक हजार ५०० प्रतिनिधि सहभागी भएका छन्। नयाँ नेतृत्व घोषणा गर्दै महाधिवेशन शनिबार समापन हुने प्रतिष्ठानले जनाएको छ।