स्ववियुद्वारा विद्यार्थी नेता पक्राउको विरोध, तत्काल रिहाइको माग


काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थी नेतासहित पाँच जनालाई पक्राउ गरिएको घटनाप्रति विरोध जनाउँदै उनीहरूको तत्काल रिहाइको माग गरेको छ।

स्ववियु अध्यक्ष दीपकराज जोशीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीबीचको विवादपछि पक्राउ गरिएका विद्यार्थीहरूलाई अविलम्ब रिहा गर्न माग गरिएको हो।

विज्ञप्तिअनुसार २०८३ असोज २२ गते विश्वविद्यालयका पदाधिकारी र केही विद्यार्थीबीच वादविवाद भएको थियो। त्यसपछि असोज २३ गते विद्यार्थी र विश्वविद्यालयका पदाधिकारीबीच परिस्थितिबारे छलफल गर्न बैठक बसेको र उक्त बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भई सहमति भइसकेको स्ववियुको दाबी छ।

तर, सहमतिपछि पनि केही विद्यार्थी पक्राउ गरिएको भन्दै स्ववियुले आपत्ति जनाएको छ।

पक्राउ पर्नेमा आरआर क्याम्पसका स्ववियु अध्यक्ष लोकेश खड्का, विश्वविद्यालय क्याम्पसका स्ववियु सचिव हिकमत बुढा, सदस्य कुलबहादुर बुढा, सदस्य तेजप्रकाश सञ्ज्याल र विद्यार्थी रमन उपाध्याय रहेको विज्ञप्तिमा उल्लेख छ।

स्ववियुले विश्वविद्यालयको स्वायत्ततामाथि सरकारी नियन्त्रण स्वीकार्य नहुने जनाएको छ। साथै, लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै समस्याको समाधान संवाद र सहकार्यबाट खोज्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

त्रिभुवन विश्वविद्यालय ऐनअनुसार लोकतान्त्रिक अभ्यासबाट निर्वाचित विद्यार्थीको साझा संस्था स्ववियुको प्रतिनिधित्व विश्वविद्यालयको सभामा सुनिश्चित हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

विश्वविद्यालयको उन्नयन तथा विद्यार्थीका हकहित र सेवा सुविधाका विषयमा स्ववियुले निरन्तर आवाज उठाउँदै आएको जनाउँदै पक्राउ परेका विद्यार्थीहरूको रिहाइका लागि जोडदार माग गरिएको छ।