हेडिङ: बाढीपीडितको राहतका लागि जापानका तीन संस्थाद्वारा ३५ लाख बढी सहयोग


काठमाडौं ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि जापानका तीन संस्थाले ३५ लाख ४७ हजार ५३६ रुपैयाँ सहयोग गरेका छन्।

जापान नेपाल सोसाइटी (जेएनएस), नेपाल जाइका अलमनाई एसोसिएसन (जान) र आइस्याप (ISAP) ले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

जापान नेपाल सोसाइटीबाट २२ लाख २६ हजार ५६० रुपैयाँ, जानबाट १० लाख ११ हजार ७०५ रुपैयाँ र आइस्यापबाट ३ लाख ९ हजार २७१ रुपैयाँ सहयोग संकलन गरिएको हो। जानका अध्यक्ष एवं कृषि प्रवर्द्धन आयोजना नेपाल (APPIN) का टिम लिडर डा. रामचन्द्र भुसालको नेतृत्वमा गएको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो।

यसअघि जानका आजीवन सदस्य तथा नेपाल सरकारका पूर्वसहसचिव लोकनाथ देवकोटाले पनि बाढीपीडितको सहयोगार्थ ५० लाख रुपैयाँ अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिसक्नुभएको छ।

तीनवटै संस्थाका सदस्य तथा शुभेच्छुकबाट स्वैच्छिक रूपमा संकलन गरिएको सहयोगप्रति अर्थमन्त्री वाग्लेले धन्यवाद व्यक्त गर्नुभएको छ। जापान नेपाल सोसाइटीले विपद्का बेला राहत, सामुदायिक विकास तथा कृषि उत्पादन र बजारीकरणमार्फत ग्रामीण समुदायको आयआर्जन वृद्धि गर्न नेपालमा विभिन्न कार्यक्रमलाई सहयोग गर्दै आएको छ।

संस्थाहरूले बाढीका कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।