उदयपुर ।
त्रियुगा नगरपालिका वडा नं २का स्थानीयले घरायसी प्रयोजनकालागि बालुवा, गिटी, ढुंगा लगायतका नदी जन्य पदार्थ निकाल्न नपाउँदा समस्यामा परेको बताएका छन् । अन्यत्रबाट नदीजन्य पदार्थ ल्याएमा महंगो कर तिनु पर्ने अवस्था रहेकोले घर नजिकै रहेको नदी जन्य पदार्थ निर्वाध रुपमा उपयोग गर्न पाउनु पर्ने माग गरेका छन् । त्रियुगा नपा २ को वडा कार्यालयमा हालै आयोजित प्राकृतिक विपती र तटीय क्षेत्रका समस्या विषयक सार्वजनिक सुनुवाईमा स्थानीयले नदी नियन्त्रण, पुल, तटबन्ध, कल्वर्ट निर्माणकालागि जेट आउँछ तर उक्त बजेट कहाँ कसरी खर्च हुन्छ स्थानीयले जानकारी पाउँदैनन्, नदी जन्य पदार्थ उत्खनन् गरेपछि प्राकृतिक विपत आउने समस्या जस्ताको त्यस्तै रहेको भन्दै गुनासो गरेका थिए ।
उदयपुरको त्रियुगा नगरपालिका–२ वडा कार्यालय मोतियाहीमा भएको सो कार्यक्रममा स्थानीयले घरआँगनकै खोलाबाट बालुवा, गिट्टी र ढुंगा निकाल्न नपाउने, बाहिरबाट किन्दा करले महँगो पर्ने; खोलामा पुल नहुँदा वर्षायाममा आवतजावत रोकिएर बस्ती नै बाढीको जोखिममा पर्ने समस्या स्थानीयले कोशी प्रदेशका जनप्रतिनिधिसमक्ष राखेका छन् । संसद् सहयोग परियोजना/युएनडिपीको सहयोगमा संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा भएको ‘प्राकृतिक विपत्ति र तटीय क्षेत्रका समस्या सम्बन्धी सार्वनिक सुनुवाई कार्यक्रम’ स्थानीयले विकासका नाममा पटक–पटक बजेटको दुरुपयोग भएको र आफ्नो गाउँठाउँमा हुने विकास निर्माणका काममा स्थानीयले कुनै जानकारी नपाएको भन्दै आक्रोस पोखेका थिए ।
विगतमा उदयपुर १बाट प्रतिनिधिसभामा निर्वाचित डा. नारायण खड्काले निर्वाचनका समयमा मत लिनकालागि गाईघाट फत्तेपुर सडक खण्डमा पर्ने लुहाले, कंग,बबिया, बैरागी खोला लगायतका खोलामा पक्की मोटरेबल पुल बनाई दिने आश्वासन दिए , सगरमाथा विमानस्थल निर्माण गर्ने भनेर १सय ५७ हेक्टर वन मासेर काठ बिक्री गरेर, हजारौ क्विन्टल काठ सडेर गयो तर अहिलेसम्म पनि त्यसको निकास ननिस्केको भन्दै आक्रोस पोखेका थिए । गाईघाट–फत्तेपुर सडकखण्डमा पर्ने यी खोलामा पुल नहुँदा वर्षायाममा आवतजावतमा समस्या हुने उनीहरूको भनाइ थियो । सडक पिच भए पनि दर्जनौँ खहरे खोला रहेको यस खण्डमा पुल नहुँदा स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपरेको गुनासो गरे ।
त्रियुगा–२ का स्थानीय केदारप्रसाद खतिवडाले घरबाट पाँच सय मिटर नजिकै खोला भए पनि बालुवा, गिट्टी र ढुंगा उठाउन नपाउने तथा बाहिरबाट ल्याउँदा करका कारण महँगो पर्ने बताए । ‘घरबाट पाँच सय मिटर नजिक खोला छ । आफूले बालुवा, गिट्टी, ढुंगा उठाउन पाइँदैन । कर तिरेर ल्याउँदा ६ सय रुपैयाँ पर्छ । बालुवा, गिट्टी, ढुंगाको करको दर प्रदेश सरकारले तोक्दोरहेछ । यसको बारेमा पुर्नविचार गर्न माग गदछु ।’ यसैगरी अर्का स्थानीय अर्जुन पोखरेलले चुरे क्षेत्रबाट बगेर आउने खोलाका कारण दक्षिणी भेगका बस्ती बाढीको जोखिममा रहेको बताए । ‘खोला किनार नजिकका बस्ती बाढीका कारण विस्थापित हुने त्रास छ ।
लुहाले, कंग, बबियालगायत खोलाबाट बस्ती बचाउनुपर्छ ।’ यता तारा पौडेलले पनि खोलामा पुल निर्माणसँगै महिलालाई गाउँमै रोजगारी र उद्यमसँग जोड्नुपर्ने माग गरिन् । उनका अनुसार त्रियुगा–२ का महिला घाँस–दाउरा बेच्न गाईघाट बजारसम्म पुग्नुपर्ने अवस्था छ । ‘खोलामा पुल नहुँदा समस्या छ । महिलाहरूको गाउँमै उद्योग खोल्न र व्यवसायिक बनाउन के–के पहल भइरहेको छ ? हामीले पटक–पटक माग गर्दै आएका छौँ ।’ स्थानीय सुवास रसाइलीले विकासका लागि बजेट आए पनि काम प्रभावकारी नभएको गुनासो गरे । ‘यहाँ धेरै बजेट आउने गरेको छ । कहाँ–कहाँ के–के काम भइरहेको छ ? सार्वजनिक सुनुवाइ हुँदा समस्या राख्ने काम हुन्छ, तर काम हुँदैन ।’ स्थानीय कार्यक्रममा जनप्रतिनिधि र सरोकारवालासँग आफुहरुको प्रश्नको जवाफ पनि पाएका थिए ।
स्थानीयको गुनासोको जवाफ दिनेक्रममा डिभिजन वन कार्यालयका प्रमुख गजेन्द्रकुमार श्रेष्ठले वनसँग सम्बन्धित कतिपय कानुन पुराना रहेको र संघ तथा प्रदेशबीचका नीतिगत समस्याले पनि स्थानीय तहमा समस्या देखिएको बताए । पूर्वमन्त्री तथा प्रदेश सांसद नारायण बुर्जामगरले उदयपुरका समस्या समाधानका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरू एकजुट भएर प्रदेश सरकारसमक्ष विषय उठाउने बताए । ‘जनताले प्रश्न अब हामीलाई मात्र होइन, संघीय सरकारका संघीय संसद्लाई पनि गर्नुपर्छ । हामी प्रदेशका सांसद जनताका मुद्दाका सवालमा एकजुट भएर प्रदेश सरकारसमक्ष उदयपुरका समस्या राख्छौँ ।’ प्रदेश सांसद गीतादेवी रेग्मीले प्राकृतिक विपत्ति र तटीय क्षेत्रका समस्या प्रदेशसभा र सरकारसमक्ष राखेर समाधानमा पहल गर्ने बताइन् ।
सांसद सम्झना पाख्रिनले नदीजन्य पदार्थ र भौतिक पूर्वाधारका समस्या स्थानीय र प्रदेश सरकार मिलेर समाधान गर्नुपर्ने बताइन् । उपसभामुख सिर्जना दनुवारले गाईघाट–फत्तेपुर सडकखण्डका कंग, बबिया र लुहाले खोलामा पुल निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिइन । ‘नौ वर्षमा प्रदेश सरकारबाट कति बजेट आयो ? कति काम भए ? यसमा पनि खोज्नुपर्छ ।’ उनले समस्या समाधानका लागि जनप्रतिनिधिबीच एकता आवश्यक रहेको बताउँदै भनिन्, ‘हामी सबैको एकता नै समस्या समाधानको पहल हो । म यो दल, उ त्यो दल भन्नु हुँदैन ।’ नदी उकास क्षेत्रमा नदीजन्य पदार्थ उत्खननका लागि कानुनी समस्या रहेको भन्दै त्यसका लागि प्रदेशसभाबाट पहल गर्ने उनले बताइन् ।
आफ्नै पहलमा उदयपुरमा ५० करोड रुपैयाँभन्दा बढीका आयोजना ल्याएको दाबीसमेत गरिन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशका अध्यक्ष कुमार लुईटेलको अध्यक्षतामा भएको कार्यक्रममा उदयपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने हिमाल कार्की, रामकुमार खत्री, लिलाकुमारी राई र राजन किराती भने उपस्थित थिएनन् । मञ्चले उदयपुरका सबै प्रदेश सांसदलाई कार्यक्रममा खबर गरेको जनाएको छ ।











प्रतिक्रिया