उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिकामा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु भएको छ । भारत सरकारको आर्थिक सहयोगमा त्रियुगा नगरपालिका–५, देउरीमा साढे ५ तले आधुनिक नगर अस्पताल निर्माण हुन लागेको हो ।

सत्रयुगा नपा ५ देउरीमा अस्पताल भवनको हालै काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह, त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।
भारतीय सरकारको पूर्ण सहयोगमा निर्माण हुने अस्पताल भवनको कुल लागत स्टिमेट मूल्य २४ करोड रुपैयाँ रहेको भए पनि भ्याटसहित १५ करोड ९८ लाख ४४ हजार २५६ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी क.ेएस.एम. सर्भिसेस–जे.एस.एस. इन्जिनियरिङ सर्भिसेस जेभी, काठमाडौंले निर्माणको जिम्मेवारी लिएको छ । निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण सुरु गरिएको नगर प्रमुख बस्नेतले बताउनुभयो । उहाँका अनुसार अस्पतालको भुइँ तलादेखि पाँचौँ तलासम्म स्वास्थ्य उपचार, निदान, शल्यक्रिया, प्रसूति, नवजात शिशु सेवा तथा प्रशासनिक संरचनालाई व्यवस्थित रूपमा समेटिनेछ ।
नगर प्रमुख बसन्त बस्नेतको पहलमा बन्ने अस्पतालको भुइँ तलामा आकस्मिक सेवा, बिरामी दर्ता तथा प्रतिक्षालय, औषधि वितरण, एक्स–रे, यूएसजी, ईसीजीलगायतका प्रारम्भिक तथा निदानात्मक सेवाहरू रहनेछन् । पहिलो तलामा शल्यक्रिया तथा प्रसूति र नवजात शिशुसँग सम्बन्धित उपचार कक्ष, अपरेशन थिएटर, रिकभरी र सीएसएसडीजस्ता अत्यावश्यक सुविधाहरू रहनेछन् ।
त्यसैगरी, दोस्रो तलामा पुरुष, महिला तथा सामान्य वार्डसहित बिरामी भर्ना तथा उपचारका सुविधा रहनेछन् । तेस्रो तलामा दन्त, आँखा, सामान्य तथा प्रसूति–स्त्रीरोग सेवाका साथै खोप, पोषण, परामर्श र अन्य विशेषज्ञ स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ ।
चौथो र पाँचौँ तलामा अस्पताल सञ्चालनका लागि आवश्यक सहयोगी, व्यवस्थापकीय तथा प्रशासनिक संरचना रहनेछन् । ती तलामा लन्ड्री, भण्डारण, पुस्तकालय, मेट्रोन कार्यालय, प्रशासन तथा वित्त शाखा र बैठक कक्षलगायतका संरचना समावेश गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार त्रियुगा नगर अस्पताल एउटा भवन निर्माण गर्ने परियोजना मात्र नभई आकस्मिक उपचारदेखि निदान, शल्यक्रिया, प्रसूति तथा नवजात शिशु सेवा, बाह्य तथा आन्तरिक उपचार र प्रशासनिक सेवासम्मलाई एउटै परिसरबाट उपलब्ध गराउने एकीकृत स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गरिनेछ ।
नगर अस्पताल निर्माण सम्पन्न भएपछि त्रियुगासहित आसपासका नागरिकले सामान्य उपचारदेखि विशेषज्ञ स्वास्थ्य सेवासम्म स्थानीय तहमै सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसले स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता र आर्थिक भारसमेत कम गर्ने नगरपालिकाको विश्वास छ ।











प्रतिक्रिया