जब भोको पेटले जीवनको नयाँ बाटो देखायो

सीएनएन हीरो नारायणन कृष्णनको निःस्वार्थ सेवागाथा

0
Shares

सपनाको सहर, विलासिताको शिखर र स्विट्जरल्याण्डको फाइभ–स्टार होटलमा भव्य करियरको सुनिश्चितता, एक प्रतिभाशाली युवा शेफ नारायणन कृष्णनको सामुन्ने जीवनले खुसी र समृद्धिको एउटा स्वर्ण ढोका खोलेको थियो । तर, भाग्यले उनीका लागि अर्कै गहिरो र कारुणिक कथा लेखिसकेको थियो । सन् २००२ मा, युरोप उड्नुअघि भारतको मदुराईस्थित आफ्नै जन्मभूमि फर्किएका कृष्णन एउटा मन्दिर नजिकैको पुलमुनि पुगे । त्यहाँ उनीसामु एउटा यस्तो दृश्य आयो, जसले उनको चेतनालाई जरैदेखि हल्लाइदियो । एक वृद्ध, अशक्त र असहाय मानिस, जसको पेटमा भोकको आगो यसरी बलेको थियो कि उनी आफ्नै मलमूत्र खान बाध्य थिए । त्यो दृश्य कुनै कथाको कल्पित पाना थिएन, मानवताको सबैभन्दा क्रूर र नाङ्गो यथार्थ थियो । क्षणभरमै कृष्णन स्तब्ध भए । उनको मुटुभित्र एउटा असीम पीडा विस्फोट भयो । उनले तुरुन्तै ती वृद्धलाई खाना खुवाए र त्यही क्षण एउटा संकल्प जन्मियो, आफ्नो बाँकी जीवन सडकका तिनै भोका, बिरामी र बेसहारा आत्माहरूको सेवामा अर्पण गर्ने । हप्ताभित्रै उनले फाइभ–स्टारको आकर्षक जागिर चटक्कै छाडे । जीवनको सबै भौतिक सुख–सुविधालाई पछाडि छाडेर सडकलाई नै आफ्नो कार्यक्षेत्र बनाए ।

त्यही हृदयविदारक घटनाको जगमा सन् २००३ मा ‘अक्षय ट्रस्ट’ को जन्म भयो । संस्कृतमा ‘अक्षय’ को अर्थ कहिल्यै नसकिने वा कहिल्यै नष्ट नहुने भन्ने हुन्छ । हिन्दु पौराणिक कथामा अन्नपूर्णा देवीको ‘अक्षय पात्र’ ले जसरी कहिल्यै नसकिने खाना दिन्थ्यो, त्यसरी नै नारायणनले मानिसभित्रको करुणा र दयाको ज्योति कहिल्यै ननिभोस् भन्ने पवित्र भावका साथ यो नाम रोजेका थिए । २४ वर्षभन्दा बढीको यो अहोरात्र यात्रामा उनले मदुराईका सडकमा कष्टकर जीवन बिताइरहेका १२ लाखभन्दा बढी मानसिक रूपमा अस्वस्थ, परिवारबाट त्यागिएका, भोका र असहाय मानिसहरूलाई आफ्नै हातले खाना बनाएर खुवाएका छन् । चरम गरिबी र सामाजिक उपेक्षाका कारण सडकमा असरल्ल छाडिएका ती आत्माहरूसँग न आफ्नो नाम सम्झने चेतना छ, न त कसैसँग मद्दत माग्ने वा धन्यवाद भन्ने सामथ्र्य नै छ । कतिपय अवस्थामा मानसिक असन्तुलनका कारण उनीहरू उग्र वा भयानक पनि हुन्छन्, तर नारायणनको आँखाले उनीहरूको त्यो बाहिरी रूप होइन, उनीहरूको भोको र तड्पिरहेको आत्मा देख्छ ।

नारायणन कृष्णनको दैनिक जीवन कुनै कठोर तपस्याभन्दा कम छैन । बिहान ४ बजे नै उठेर उनी र उनको सानो टोली एउटा पुरानो भ्यानमा यात्रा सुरु गर्छन् । चालिस डिग्री सेल्सियसभन्दा बढीको प्रचण्ड गर्मी, धुलो र हिलोको प्रवाह नगरी उनीहरू दिनहुँ करिब १२५ माइलको दूरी तय गर्छन् । उनी केवल खाना मात्र बाँड्दैनन्, आफैँ भान्छामा पुगेर पौष्टिक र मीठो शाकाहारी भोजन तयार गर्छन् । अनि सडकका पुलमुनि, गल्लीहरू र मन्दिरका कुनाकाप्चामा भौँतारिएका करिब ४ सय जना मानिसहरूलाई आफ्नै हातले टोली–टोली बनाएर खुवाउँछन् । यति मात्र होइन, मानिसको हराएको आत्मसम्मान फर्काउनु पनि उनको उत्तिकै ठूलो उद्देश्य हो । उनले कपाल काट्ने आठ फरक शैलीहरूको तालिम लिएका छन् । उनी आफूसँगै काँस, कैँची र रेजर बोकेर हिँड्छन्, सडकका फोहोरी र अस्तव्यस्त मानिसहरूलाई आफैँ नुहाइदिन्छन्, कपाल र दाढी काटेर चिटिक्क पारिदिन्छन्, र उनीहरूको चोटपटकमा मलम लगाइदिन्छन् ।

शुरुआती दिनहरूमा यो बाटो सजिलो थिएन । आमाबाबुले छोराको उच्च शिक्षामा आफ्नो सम्पूर्ण जिन्दगीको कमाई लगानी गरेका थिए । त्यसैले उनीहरू सुरुमा छोराको यो निर्णयबाट साह्रै दुःखी र निराश भए । तर, एकदिन नारायणनले आफ्नी आमालाई सडकमा लगेर आफूले गरिरहेको काम देखाए । सडकका भोका र असहाय मानिसहरूले आफ्नो छोराको हातबाट खाना पाउँदा उनीहरूको आँखामा छाएको त्यो असीम तृप्ति र खुसी देखेर आमाको मन पग्लियो । घर फर्किएपछि आमाले आँसु पुछ्दै भनिन्,“छोरा, तिनै भोका मानिसहरूलाई खाना खुवाऊ, तिम्रो बाँकी जीवनभर तिमीलाई खुवाउने जिम्मेवारी मेरो भयो ।” आज नारायणन आफ्नो कुनै व्यक्तिगत तलब लिँदैनन्, न त उनीसँग कुनै भव्य बंगला नै छ । सन् २००२ मा आफ्नो २५ सय डलरको सम्पूर्ण बचत यो सेवामा लगाएपछि, उनी अक्षय ट्रस्टको सानो र साधारण भान्छाको भुइँमा आफ्ना सहकर्मीहरूसँगै सुत्छन् ।

संस्था सञ्चालनका लागि दैनिक करिब ३ सय २७ डलर खर्च हुन्छ, तर वैधानिक सहयोगले महिनाको २२ दिन मात्र धान्छ । बाँकी दिनको अभाव पूर्ति गर्न नारायणन आफ्ना हजुरबुबाले उपहारस्वरूप दिएको सानो घरबाट आउने महिनाको ८८ डलर भाडासमेत यही अभियानमा लगाउँछन् । पर्याप्त बजेटको अभावका कारण उनले सडकका बेसहाराहरूलाई दीर्घकालीन आश्रय दिन निर्माण सुरु गरेको ‘अक्षय होम’ को भवन निर्माण कार्य बीचमै रोक्नुपरेको छ । तर, पनि उनको मनोबल अलिकति पनि घटेको छैन । कसैको प्रशंसा, नाम वा व्यक्तिगत लाभको कुनै अपेक्षा नगरी निरन्तर सेवामा खटिएका उनलाई सन् २०१० मा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्ठित ‘सीएनएन हिरो’ उपाधिद्वारा सम्मानित गरियो । यो सम्मान केवल नारायणनको लागि मात्र थिएन, सम्पूर्ण मानवता, दया र सेवाभावको विजय थियो ।

संसारका लागि नारायणन कृष्णन एउटा अद्भुत प्रेरणाका स्रोत हुन्, तर उनका लागि यो कुनै ठूलो काम नभएर उनको जीवनको एकमात्र उद्देश्य हो । उनी भन्छन्,“मानव भोकको त्यो छटपटी र पीडा नै मेरो र मेरो टोलीको मुख्य ऊर्जा हो । जब म मानिसहरूलाई आफ्नै हातले खुवाउँछु र उनीहरूको अनुहारमा त्यो परम आनन्द देख्छु, त्यही नै मेरो शक्ति बन्छ । म उनीहरूको शरीर मात्र होइन, उनीहरूको आत्मा देख्छु र म मेरा मानिसहरूलाई बचाउन चाहन्छु ।” आधुनिक समाज जहाँ मानिसहरू पैसा, पद र भौतिक सुखको पछाडि अन्धो भएर दगुकिरहेका छन्, त्यहाँ नारायणनको यो जीवनले हामीलाई सिकाउँछ कि वास्तविक खुसी र जीवनको सार्थकता अरूको आँसु पुछ्नुमा छ । फाइभ–स्टार होटलको सुनौलो भविष्य त्यागेर सडकका बेसहाराहरूको सेवामा आफ्नो जीवन समर्पण गर्ने यो महान् आत्मा आज पनि मदुराईका गल्लीहरूमा करुणाको एउटा बलिरहेको ज्योति बनेर निस्वार्थ रूपमा चम्किरहेको छ ।