काटिएका पहाड र पुरिएका सपना पनामा नहरभित्रको रहस्य

0
Shares

कहिलेकाहीँ मानिसका सपनाहरू प्रकृतिको कठोर सीमाभन्दा धेरै विशाल हुन्छन्, अनि तिनै सपना पूरा गर्न मानव सभ्यताले असम्भव मानिएका पहाडहरू पन्छाउने आँट गर्छ । १९औं शताब्दीको उत्तरार्धतिर संसारको नक्सामा एउटा यस्तै अद्भुत तर साहसी सपना कोरिएको थियो । त्यो थियो एटलान्टिक र प्रशान्त महासागरलाई जोडेर विशाल दक्षिण अमेरिकी महाद्वीपको हजारौँ किलोमिटर लामो, जोखिमपूर्ण र ज्यानमारा समुद्री यात्रालाई सदाका लागि अन्त्य गर्ने । पनामाको साँघुरो भूभागमा दुई विशाल महासागरलाई मिसाउने यो परिकल्पना केवल व्यापारिक सुगमताका लागि मात्र थिएन, प्रकृतिको शाश्वत नियममाथि मानिसको सर्वोपरि क्षमता स्थापित गर्ने एउटा महान् चुनौती पनि थियो । तर, त्यो हरियो घना जंगल र विषालु वातावरणको गर्भमा एउटा यस्तो भयावह नर्क लुकेको थियो, जसले हजारौँ सपनाहरूलाई आफैँभित्र निल्नेवाला थियो ।

सन् १८८० को दशकमा फ्रान्सले असाधारण उत्साह र गर्वका साथ यो असम्भव देखिने अभियानको ढोका उघारेको थियो । सुप्रसिद्ध इन्जिनियरहरूको टोली, अत्याधुनिक मेसिनरी र करोडौँ फ्र्याङ्कको लगानीका साथ सुरु भएको उक्त परियोजना चाँडै नै एउटा विभीषिकामा परिणत भयो । पनामाको बाक्लो र रहस्यमयी जंगल, मुसलधारे वर्षा, छिनछिनमा आउने विनाशकारी पहिरो अनि त्योभन्दा पनि खतरनाक रूपमा फैलिएको उष्णकटिबन्धीय रोगहरूले फ्रान्सेली टोलीलाई घुँडा टेक्न बाध्य पा¥यो । पहेँलो ज्वरो (एल्लो फिभर) र मलेरियाजस्ता घातक रोगहरूले दैनिक सयौँ मजदुरहरूको ज्यान लिन थाले । मृत्युको कालो छाँया यति बाक्लो भयो कि अस्पतालहरू बिरामीले भरिए र चिहानहरू खन्ने ठाउँसमेत पाउन छाड्यो । अन्ततः रोगको विनाशकारी ताण्डव, प्राविधिक असफलता र भयानक आर्थिक टाटपल्टाईका कारण हजारौँ निर्दोष श्रमिकहरूको रगतले भिजेको फ्रान्सेली सपना बिचमै छिन्नभिन्न भयो र परियोजना पूर्ण रूपमा ठप्प बन्यो ।

तर, मानिसको अदम्य इच्छाशक्ति असफलताको जगमा पनि नयाँ इतिहास लेख्न पछि हट्दैन । फ्रान्सको विनाशकारी असफलताबाट पाठ सिक्दै सन् १९०४ मा संयुक्त राज्य अमेरिकाले यस असम्भव चुनौतीलाई आफ्नो काँधमा लियो । अमेरिकी नेतृत्वले सबैभन्दा पहिले पहाड खन्नुअघि मृत्यु बाँडिरहेको सूक्ष्म शत्रु अर्थात् रोगविरुद्ध युद्ध छेडेका थिए । डा. विलियम सी. गोर्गासको क्रान्तिकारी नेतृत्वमा पनामालाई रोगमुक्त बनाउन विश्व इतिहासकै सबैभन्दा ठूलो र आक्रामक स्वास्थ्य अभियान सुरु गरियो । पहेँलो ज्वरो र मलेरिया फैलाउने लामखुट्टेका प्रजातिहरूलाई सखाप पार्न बस्ती–बस्तीमा धूवाँ छाडियो, दूषित पानीका पोखरीहरू पुरिए, सफा खानेपानीको प्रबन्ध गरियो र आधुनिक अस्पतालहरूको सञ्जाल बिछ्याइयो । लाखौँ डलरको लागतमा सञ्चालित ती साहसिक स्वास्थ्य क्रान्तिले पनामाको मृत्युदरलाई ह्वात्तै घटायो । जसले मानव जातिलाई सूक्ष्म जीवविरुद्धको लडाइँमा इतिहासकै ठूलो जित दिलायो र नहर निर्माणको ढोका पुनः खोलिदियो ।

स्वास्थ्यमा विजय प्राप्त गरेपछि निर्माण टोलीको अगाडि उभिएको थियो प्रकृतिको सबैभन्दा विशाल र कठोर संरचना मानिने चट्टानी पहाडहरूसँगको भीषण युद्ध । नहरको सबैभन्दा कठिन र भयावह क्षेत्र मानिने ‘कुलेब्रा कट’, जसलाई अहिले गायलार्ड कट भनिन्छ । त्यहाँ करिब १३ किलोमिटर लामो विशाल पहाडलाई काटेर जहाज हिँड्ने बाटो बनाउनु थियो । लाखौँ घनमिटर माटो र कठोर चट्टानहरू हटाउन दिनरात भयानक विस्फोटक पदार्थ, भीमकाय बाफबाट चल्ने कोदालो र हजारौँ मालवाहक रेलहरूको प्रयोग गरियो । तर, प्रकृति त्यति सजिलै पराजित हुन तयार थिएन । एकातिर पहाड खनेर सकिनै लाग्दा अर्कोतिरबाट अचानक विशाल पहिरो खसेर महिनौँको मिहिनेत छिनभरमै माटोमा मिलाइदिन्थ्यो । यसैबीच, ग्याटुन बाँध निर्माण गरी विशाल ग्याटुन ताल बनाइयो । जसका लागि कयौं पुराना बस्तीहरू, उर्वर भूमि र ऐतिहासिक संरचनाहरूलाई सधैँका लागि पानीमुनि विलीन गराइयो ।

अन्ततः निरन्तर १० वर्षको कठोर अमेरिकी प्रयास, अभूतपूर्व प्राविधिक क्षमता र मानिसको दृढ संकल्पपछि १५ अगस्ट १९१४ मा पनामा नहर औपचारिक रूपमा सञ्चालनमा आयो । करिब ८० किलोमिटर लामो यो अद्भुत जलमार्गले एटलान्टिक र प्रशान्त महासागरलाई मात्र जोडेन, विश्व व्यापार, भूगोल र अर्थतन्त्रको सम्पूर्ण नक्सा नै बदलेर राखिदियो । जहाजहरूका लागि दक्षिण अमेरिकाको दूरदराज र अति जोखिमपूर्ण दक्षिणी भाग (केप होर्न) हुँदै गरिने हजारौँ किलोमिटरको लामो र कष्टकर यात्रा क्षणभरमै सीमित भयो । यस नहरमा अपनाइएको अत्याधुनिक ‘लक प्रणाली’ आधुनिक इन्जिनियरिङको एउटा अद्वितीय चमत्कार हो, जसले समुद्रको सतहबाट विशालकाय जहाजहरूलाई २५ मिटरभन्दा माथि उठाएर ग्याटुन ताल हुँदै पुनः अर्को महासागरको सतहमा सुरक्षित रूपमा झार्ने काम गर्छ ।

यद्यपि, आज जब संसारले पनामा नहरलाई आधुनिक मानव सभ्यता र इन्जिनियरिङको एक महान् चमत्कारका रूपमा हेर्छ, तब यसको जगमा गाडिएका हजारौँ अज्ञात लासहरू र तिनका परिवारको चित्कारलाई बिर्सन सकिँदैन । फ्रान्सेली र अमेरिकी दुवै निर्माण अवधिमा गरी २५ हजारभन्दा बढी श्रमिकहरूले रोग, अकस्मात भएका भयानक दुर्घटना, पहिरो र अत्यधिक श्रमका कारण ज्यान गुमाएका थिए । अमेरिकी अवधिमा मात्रै ५६ सयभन्दा बढी मानिसको आधिकारिक मृत्यु दर्ता भएको थियो । जसमा बहुसंख्यक मृतकलगायत पसिना बगाउनेहरू क्यारिबियन टापुका काला जातिका मजदुर र स्थानीय गरिब नागरिकहरू थिए । जसको योगदान इतिहासका पानाहरूमा प्रायः ओझेलमा पारियो।

अन्ततः मानिसले कठोर पहाडहरूलाई छाती चिरेर काट्यो, जंगलहरूलाई पन्छाएर नयाँ तालहरू सिर्जना ग¥यो र प्रकृतिको शाश्वत सीमालाई तोड्दै दुई महासागरलाई एक ठाउँमा ल्याएरै छाड्यो । तर, यो अद्वितीय उपलब्धि हासिल गर्न उसले रोग, प्रकृति, भीषण पहिरो र मृत्युसँग निरन्तर १० वर्षसम्म आफ्नो रगत र पसिनाको मूल्य चुकाउनुप¥यो । त्यसैले, पनामा नहर केवल सिमेन्ट, पानी र चट्टानले बनेको साधारण जलमार्ग वा व्यापारिक बाटो मात्र होइन, मानव इतिहासमा कोरिएको एउटा असाधारण सपना, असीमित जोखिम, मानवीय बलिदान र प्रकृतिको काखमा मानिसले हासिल गरेको अदम्य विजयको जीवन्त कथा पनि हो ।