काठमाडौँ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू सरकार गठन र सत्ता परिवर्तनको खेलमा बढी केन्द्रित हुँदा मुलुकले अपेक्षित आर्थिक प्रगति हासिल गर्न नसकेको बताएका छन्। त्यसकै परिणामस्वरूप जनता तथा युवा पुस्तामा असन्तुष्टि बढ्दै विद्रोहको भावना विकसित भएको उनको भनाइ छ।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले नागरिकको असन्तोषलाई ‘विदेशीको षड्यन्त्र’ भनेर मात्र व्याख्या गर्न नहुने बताए। राजनीतिक नेतृत्वले आफ्ना कमजोरी र असफलताको पनि जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए।
देश र जनताको आर्थिक रूपान्तरणभन्दा राजनीतिक दलहरू निरन्तर सत्ता समीकरणको अंकगणितमा केन्द्रित हुँदा नागरिकमा निराशा बढेको भट्टराईले बताए। मुलुकका समस्याको दोष अरूमाथि थोपर्ने प्रवृत्ति अन्त्य गर्दै राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ।
लामो संघर्ष र बलिदानपछि स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन ल्याउन नसक्नु राजनीतिक नेतृत्वको साझा कमजोरी भएको उनले स्वीकार गरे।
विश्वका विभिन्न मुलुकको आर्थिक विकासको उदाहरण प्रस्तुत गर्दै भट्टराईले दक्षिण कोरिया, सिंगापुर, मलेसिया र चीनजस्ता देश आफ्नै जीवनकालमा ‘ग्लोबल साउथ’ बाट समृद्ध मुलुकको सूचीमा पुग्न सफल भएको स्मरण गरे।
उनले भने, ‘हामी सरकार बनाउने र गिराउने खेलमै अल्झियौँ, आर्थिक समृद्धिको दिशामा अपेक्षित रूपमा अघि बढ्न सकेनौँ। त्यसैले जनतामा असन्तुष्टि बढ्यो र नयाँ पुस्ताले विद्रोहको आवाज उठायो। यसका लागि अरूलाई मात्र दोष दिने होइन, हामीले आफ्नै कमजोरी पनि स्वीकार गर्नुपर्छ।’
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि आफ्नै देशमा रोजगारी, अवसर र समृद्धिको भरोसा जनतालाई दिलाउन राजनीतिक नेतृत्व सफल हुन नसकेको उनले बताए।
नेपाललाई आगामी १० देखि २० वर्षभित्र समृद्ध बनाउने स्पष्ट राष्ट्रिय योजना आवश्यक रहेको भट्टराईको भनाइ छ। त्यसका लागि सबै राजनीतिक दलबीच साझा सहमति कायम गरी कार्यान्वयनमा प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए।
‘अब आगामी १०–२० वर्षमा नेपाललाई समृद्ध बनाउने स्पष्ट राष्ट्रिय योजना बनाऔँ। सबै राजनीतिक दलबीच सहमति गरौँ र कसले राम्रोसँग कार्यान्वयन गर्ने भन्नेमा प्रतिस्पर्धा गरौँ,’ उनले भने।
पुरानो पुस्ताले अब नयाँ पुस्तालाई विश्वास गर्दै नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा पनि उनले जोड दिए। नयाँ पुस्ताले देखाएको साहस र अग्रसरता सकारात्मक रहेको उल्लेख गर्दै कांग्रेसभित्र पनि पुस्तान्तरण र वैचारिक स्पष्टता आवश्यक रहेको बताए।
भट्टराईले नेपाली कांग्रेसले नयाँ पुस्ता र नयाँ विचारलाई उचित स्थान दिँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने शुभकामना दिए।
सत्ताको दुष्चक्रबाट पाठ सिक्दै अब राजनीतिक दलहरू राष्ट्र निर्माण र आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्ने उनको आग्रह थियो।











प्रतिक्रिया