जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत


काठमाडौँ।

जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेदवारी परेको थियो। तर, पार्टीको विधानअनुसार अध्यक्षका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले निर्वाचन प्रक्रिया अघि बढाइएको थियो।

महाधिवेशनबाट उपाध्यक्ष पदमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजयकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका छन्। उपाध्यक्ष पदका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ जना पदका लागि निर्वाचन भएको थियो।