काठमाडौं ।
दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शील्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार बुटवलको बीआईसीसी सम्मेलन केन्द्रमा भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवासभालाई सोझो सेटमा हराएको हो । विभागिय टोली पुलिसले सो खेल २५–२३, २५–२३, २५–२२ सेटले जितेको हो । यो नतिजासँगैं पुलिसले ७ लाख र सभापोखरीले ३ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे ।
यस्तै, तेस्रो स्थानमा रहेर विभागिय टोली नेपाल एपीएफ क्लबले १ लाख ७५ हजार नगद पुरस्कार प्राप्त ग¥यो । एपीएफले भारतको खैरा भलिबल क्लब पन्जाबलाई ३–१ सेटमा पराजित गरेको थियो । यो नतिजासँगैं चौथो भएको भारतीय टोलीले सान्त्वना ७५ हजार नगद प्राप्त गरेको थियो ।
विधा पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी पुलिसका पहल गहतराज घोषित भए । उनले १५ हजार नगद पाए । अन्य विधामा एपीएफका सरोज बर्देवा सेटर, पुलिसका रेशम छन्त्याल सर्भर, सभापोखरीका सन्तोष राई डिफेन्डर र पुलिसका चन्द्र कुँवर प्रशिक्षकमा उत्कृष्ट भए । उनीहरूले जनही ८ हजार नगद पाएका थिए ।
असोज १२ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशका तीन र नेपालका चार गरी सात टोलीले भाग लिएका थिए ।











प्रतिक्रिया