भारतबाट बढेर आयो इन्धनको खरिद मूल्य, नेपालमा तत्काल मूल्य नबढाउने निगमको निर्णय


काठमाडौँ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको हाल कायम रहेको मूल्यलाई यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य बढेर आए पनि उपभोक्तालाई तत्काल थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ।

निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भारतबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलिटर करिब २० रुपैयाँले वृद्धि भएको उल्लेख गरेको छ। यद्यपि, हालैको बाढीपहिरोबाट प्रभावित अवस्था, नजिकिँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरिएको हो।

निगमका अनुसार पेट्रोल र डिजेलको खुद्रा बिक्री मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म नै कायम रहनेछ।

यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि कुनै परिवर्तन गरिएको छैन। अब पनि उपभोक्ताले एक सिलिन्डर एलपी ग्यासका लागि २ हजार ६० रुपैयाँ नै तिर्नुपर्नेछ।

अन्तर्राष्ट्रिय बजार तथा भारतबाट प्राप्त पेट्रोलियम पदार्थको खरिद मूल्य बढे पनि नेपालमा बिक्री मूल्य नबढाउँदा निगममाथि आर्थिक दबाब थपिने भएको छ। निगमका अनुसार हालको मूल्य कायम राख्दा आगामी १५ दिनमा मात्रै करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

निगमले तत्काल उपभोक्तामाथि मूल्यवृद्धिको भार नथोपर्ने निर्णय गरेको भए पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य र भारतबाट प्राप्त हुने खरिद मूल्यमा हुने परिवर्तनका आधारमा आगामी दिनमा मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ।