सन् २०२४ अक्टोबर ९ को त्यो सुनौलो बिहानी, जब नेपाली समय अनुसार ५ः३० बजे तिब्बतस्थित शिशापाङ्मा (८,०२७ मिटर) को सर्वोच्च बिन्दुमा बिहानीको पहिलो किरण ठोक्कियो, त्यतिबेला इतिहासले नयाँ पाना पल्टाउँदै थियो । ३३ वर्षीया दावा याङ्जुम शेर्पाले जब शिशापाङ्माको बरफमा आफ्नो पाइला अडाएर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण पूरा गरिन्, तब सिंगो नेपाल र विश्वभरिका महिलाहरूको टाउको गर्वले उच्च भयो । यो केवल एउटा कीर्तिमानी आरोहणको अंकगणित मात्र थिएन, एउटी नेपाली छोरीले पुरुषप्रधान पर्वतारोहणको इतिहासलाई पुनर्लेखन गर्दै असम्भवमाथि विजय हासिल गरेको एउटा जीवन्त इतिहासको रचना थियो । स्पेनकी एडुर्ने पासाबानले सन् २०१० मा रचेएको दुर्लभ इतिहासपछि विश्व पर्वतारोहणको यो विशिष्ट ‘इलिट क्लब’ मा प्रवेश गर्ने दावा प्रथम नेपाली महिला हुन्, जसले नेपाली महिलाको हिम्मत र सामथ्र्यलाई विश्वको सर्वोच्च शिखरमा पु¥याइन् ।
समुद्र सतहबाट ४,२०० मिटरको उचाइमा रहेको दोलखाको दुर्गम रोलवालिङ उपत्यकास्थित ना गाउँमा जन्मिएकी दावाको हिमालसँगको साइनो कुनै सुखद संयोग थिएन । बाध्यता र हिमाली सामीप्यताको अनौठो संगम थियो । वरिपरि विशाल, चट्टानी र डरलाग्दा हिमालहरूले घेरिएको त्यो सानो गाउँमा हुर्किँदा पर्वतारोहण कुनै रंगिन सपना थिएन । दावाको रगतमै हिमालको माटो र साहस मिसिएकोले १२ वर्षको कलिलो उमेरमा, जब अरू बालबालिकाहरू खेलौनासँग रमाइरहेका हुन्छन्, दावाले परिवारलाई समेत नभनी दोलखा र खुम्बु जोड्ने खतरनाक ताशी लाप्चा पास पार गरेर ट्रेकिङ यात्रा सुरु गरेकी थिइन् । त्यही प्रारम्भिक पदयात्रा र हिउँको चिसो हावाले उनको छातीभित्र पर्वतारोहणप्रतिको कहिल्यै ननिभ्ने आगो सल्काइदियो । औपचारिक शिक्षा पूरा गर्न नपाएकी उही गाउँले केटीले पछि आफ्नै मिहिनेतले अंग्रेजी र फ्रान्सेली भाषामा निपुणता हासिल गर्दै आफूलाई विश्वमञ्चमा सशक्त रूपमा उभ्याइन् ।
सन् २००९ बाट व्यावसायिक रूपमा पर्वतारोहण सुरु गरेकी दावाले सन् २०१२ मा २१ वर्षको उमेरमै पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् । तर, त्यो त सुरुवात मात्रै थियो । त्यसपछि उनले मृत्युको हिमाल मानिने केटु लगायत मकालु, मनास्लु, कञ्चनजंघा र अन्नपूर्ण जस्ता संसारकै खतरनाक र ज्यानमारा हिमालहरूसँग पौँठेजोरी खेलिन् । चारपटक सगरमाथा आरोहण गरिसकेकी दावाका लागि प्रत्येक आरोहण केवल उचाइ नाप्नु मात्र थिएन, जीवन र मृत्युको दोसाँधमा उभिएर आत्मबलको परीक्षा दिनु पनि थियो । “यो यात्रा कहिल्यै सहज थिएन,” दावा आफ्ना विगतका कष्टहरू सम्झिँदै भन्छिन्,“शारीरिक थकान, मानसिक तनाव र आर्थिक अभावका अनेकौँ पहाडहरू थिए । तर, हिमालले मलाई सधैं धैर्यता, सहनशीलता र दृढता सिकायो, जसले मलाई हरेक प्रतिकूलतामा अघि बढ्न शक्ति दियो ।”

इतिहासका पृष्ठहरू पल्टाउने हो भने पर्वतारोहणलाई सधैं पुरुषहरूको वर्चस्व रहेको कठोर क्षेत्रका रूपमा हेरियो । हिलारी, तेन्जिङ वा मेसनर जस्ता दिग्गजहरूको नाम जोडिएको यो क्षेत्रमा महिलाहरूलाई प्रायः सहयोगी भूमिकामा मात्र सीमित राखिन्थ्यो । तर, दावा याङ्जुम शेर्पाले यो परम्परागत मान्यतालाई पूर्णतः ध्वस्त पारिदिइन् । सन् २०१३ मा सुरु गरेर चार वर्षको कडा मिहिनेत र कठिन परीक्षापछि सन् २०१७ मा उनले ‘इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड एसोसिएसन’ (आईएफएमजीए) बाट अन्तर्राष्ट्रिय माउन्टेन गाइडको प्रमाणपत्र प्राप्त गरिन् । चट्टान, बरफ र स्की जस्ता सबै प्रकारका कठोर भू–भागमा मानिसहरूलाई सुरक्षित आरोहण गराउन सक्ने यो प्रमाणपत्र हासिल गर्ने उनी पहिलो नेपाली महिला र पहिलो एसियाली महिला हुन् । सन् २०१९ देखि उनले ‘नेसनल जियोग्राफी’ का वैज्ञानिक अनुसन्धान टोलीहरूलाई सगरमाथामा कुनै सहयोगीका रूपमा मात्रै होइन, सम्पूर्ण टोलीको सुरक्षा र नेतृत्व सम्हाल्ने मुख्य गाइडका रूपमा सफलतापूर्वक डो¥याउँदै आएकी छन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र ‘द नोर्थ फेस’ तथा ‘रोलेक्स’ जस्ता विश्वविख्यात ब्रान्डहरूसँग जोडिएर सफलताको शिखर चुमे पनि दावाका पाइलाहरू सधैं आफ्नै माटो र जरासँग जोडिएका छन् । “नेपाल मेरो घर हो र मेरो मुटु यहीँ धड्किन्छ,”–उनी भन्छिन् । आफूले प्राप्त गरेको अन्तर्राष्ट्रिय सम्मान, आर्थिक सहयोग र एक्सपोजरलाई उनले आफ्नो व्यक्तिगत फाइदामा मात्र सीमित राखिनन् । उनले ती साधन–स्रोतहरूलाई हिमाली क्षेत्रका विपन्न तथा ओझेलमा परेका युवा महिलाहरूलाई पर्वतारोहणको निःशुल्क तालिम दिन, उनीहरूलाई आत्मनिर्भर बनाउन र हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको जलवायु परिवर्तनबारे विश्वव्यापी जनचेतना जगाउन प्रयोग गर्दै आएकी छन् । उनले नेपाली शेर्पा गाइडहरूले भोग्दै आएका जोखिम र उनीहरूले नपाएको उचित श्रेयका विषयमा पनि आवाज उठाउँदै आएकी छन् ।
आज दावा याङ्जुम शेर्पा केवल १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने नेपाली महिला मात्र होइनन्, उनी त हरेक नेपाली छोरीका लागि सम्भावनाको एउटा बलियो प्रतीक हुन् । विवाह र पारिवारिक जीवनको परम्परागत परिधिभन्दा माथि उठेर,“अझै यो क्षेत्रमा धेरै काम गर्न बाँकी छ” भन्दै अघि बढिरहेकी दावाको यो यात्रा साहस, अदम्य इच्छाशक्ति, समर्पण र मातृभूमिप्रतिको अगाध प्रेमको अमर गाथा हो । दोलखाको एउटा विकट गाउँबाट सुरु भएको उनको यात्राले आज “यदि सपना देख्ने आँट र त्यसलाई पछ्याउने दृढ संकल्प छ भने यो संसारमा कुनै पनि उचाइ असम्भव छैन” भनेर प्रमाणित गरिदिएको छ ।











प्रतिक्रिया