दुर्गा प्रसाईं पक्राउ


काठमाडौं ।

मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं भक्तपुरस्थित आफ्नै निवासबाट पुनः पक्राउ परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य रचना खतिवडाविरुद्ध अनलाइन तथा सामाजिक सञ्जालमा आपत्तिजनक र चरित्रहत्या गर्ने खालको अभिव्यक्ति दिएको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रसाईंले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका रसिक खतिवडाकी आमा तथा सांसद रचनालाई लक्षित गर्दै ‘छोराको लाशमा टेकेर संसद् बनेको’ भन्ने आशयको गम्भीर व्यक्तिगत लाञ्छना लगाएका थिए।

प्रसाईँको उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले प्रतिनिधिसभाको बैठकमै भावुक हुँदै आपत्ति जनाएकी थिइन्। त्यसपछि खतिवडाको परिवारले प्रसाईँविरुद्ध साइबर कसुरमा केन्द्रीय साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएको थियो।
प्रहरीले प्रसाईँलाई पक्राउ गरे पनि यसबारे विस्तृत विवरण भने आधिकारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

यसअघि पनि विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर, भ्रामक कागजात सार्वजनिक गरेको आरोप तथा राजनीतिक गालीगलौजसम्बन्धी विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै आएका प्रसाईँ धरौटी वा साधारण तारेखमा छुट्दै आएका थिए। उनी पुनः साइबर ब्युरोको नियन्त्रणमा परेका हुन्।