स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको नागरिकता अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा तीन कर्मचारीमाथि छानबिन अघि बढाइएको छ।
प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, लेखापाल रमेश बिक र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईंमाथि अनुसन्धान भइरहेको हो। आवश्यक कारबाहीका लागि उनीहरूको भूमिकाबारे प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा दुई बालबालिकाको नाबालक परिचयपत्र बनाउन पेस गरिएका कागजात रुजु गर्ने क्रममा उनीहरूका बुबाको नाममा दुईवटा नागरिकता रहेको भेटिएपछि घटना बाहिर आएको हो। अभिलेखअनुसार उनले २०५६ चैत ३ गते स्याङ्जाबाट र त्यसको केही महिनापछि २०५७ भदौ २५ गते कास्कीबाट अर्को नागरिकता लिएको देखिएको छ।
दुईवटा नागरिकता भेटिएपछि कास्की प्रशासनले स्याङ्जाबाट जारी भएको पहिलो नागरिकताको अवस्था, रद्द गरिएको भए त्यसको कानुनी आधार, प्रक्रिया र निर्णयसम्बन्धी अभिलेख मागेको थियो।
स्याङ्जाका प्रजिअ घिमिरेका अनुसार प्रारम्भिक छानबिनमा कर्मचारीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर सरकारी तथा मन्त्रालयको प्रणालीमा रहेको नागरिकता अभिलेखमा अनधिकृत हेरफेर गरेको विषय देखिएको छ। घटनामा संलग्न कर्मचारीको भूमिकाबारे थप अनुसन्धान भइरहेको उनले बताए।











प्रतिक्रिया