लगातार वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारी आवागमन बन्द


धनगढी ।

लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

स्थानीय प्रशासनले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म छोटो तथा लामो दूरीका सबै सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राखी सम्बन्धित जिल्ला प्रशासनले यस्तो निर्णय गरेका हुन्।

कैलाली र कञ्चनपुरमा भने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छैन। सूचना थाहा नपाई पहाडतर्फ गइरहेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडाबाट फर्काइएको प्रहरीले जनाएको छ।

शुक्रबारदेखि सुदूरपश्चिमका ९ वटै जिल्लामा निरन्तर वर्षा भइरहेको छ। स्थानीय प्रशासनले बाढी, पहिरो तथा अन्य जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।