काठमाडौँ।
अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत काम गरेको भन्दै ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ। उनीहरूलाई नेपालबाट निष्कासन गर्ने प्रक्रिया पनि विभागले अघि बढाएको जनाएको छ।
विभागका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–४, साहानमा आर्थिक साझेदारीमा निर्माण भइरहेको जियान फुड्स प्रा.लि. अन्तर्गतको नेपाल हिट प्रोसेस्ड वफेलो मिट एक्स्पोर्ट टु चाइना प्रोजेक्टमा ती विदेशी नागरिक कार्यरत थिए। उनीहरूले भने अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएको पाइएको विभागले जनाएको छ।
भिसा लिँदा उल्लेख गरिएको उद्देश्य र वास्तविक रूपमा गरिरहेको कामबीच फरक देखिएपछि उनीहरूको भिसा रद्द गरिएको विभागले स्पष्ट पारेको छ। साथै, अध्यागमन ऐन, २०४९ अनुसार जरिबाना लगाई नेपालबाट निष्कासनको प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
विभागले विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य, सर्त र कानुनी प्रावधानअनुसार मात्र नेपालमा गतिविधि गर्न आग्रह गरेको छ। त्यस्तै, उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई पनि आवश्यक स्वीकृति र उपयुक्त भिसाबिना विदेशी नागरिकलाई रोजगारीमा नलगाउन सचेत गराएको छ।
प्रचलित कानुनविपरीत गतिविधिमा विदेशी नागरिक संलग्न भएको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।
नेपालमा व्यापारिक वा औद्योगिक व्यवसायमा लगानी गर्ने अनुमति पाएका विदेशी नागरिक तथा त्यस्ता संस्थाका अधिकृत प्रतिनिधिलाई सम्बन्धित निकायको सिफारिसमा व्यावसायिक भिसा उपलब्ध गराउने व्यवस्था रहेको छ। नेपालमा उत्पादित वस्तु खरिद गरी विदेश निर्यात गर्ने विदेशी नागरिकलाई समेत यस्तो भिसा दिने प्रावधान छ।
अध्यागमन नियमावली, २०५१ अनुसार व्यावसायिक भिसा प्राप्त गर्ने व्यक्तिले जुन प्रयोजनका लागि भिसा लिएको हो, त्यही उद्देश्यअनुसार नेपालमा बस्नुपर्ने हुन्छ। यस्तो भिसा रोजगारी, श्रम वा अन्य असम्बन्धित गतिविधिका लागि प्रयोग गर्न नपाइने विभागले जनाएको छ।
पछिल्लो अनुगमनका क्रममा केही विदेशी नागरिकले भिसा सिफारिस र स्वीकृतिसँग सम्बन्धित व्यवसाय वा लगानीको उद्देश्यभन्दा फरक प्रकृतिको काम गरिरहेको भेटिएपछि विभागले यस विषयमा निगरानी बढाएको जनाएको छ।











प्रतिक्रिया