९ गतेदेखि देशैभर भारी वर्षाको सम्भावना

0
Shares

–मौसम पूर्वानुमान महाखाशाले जारी गर्‍यो विशेष बुलेटिन
–गण्डकी र सुदूरपश्चिमा धेरै भारी वर्षा हुने
–सचेत रहन मौसमविद््को आग्रह

काठमाडौँ ।

नेपालमा आगामी बिहीवारदेखि चार दिनसम्म भारी वर्षा हुने सम्भावना देखिएको छ । मौसमविद्हरूले ९ असोज शुक्रवारबाट मौसमी प्रणाली भित्रिने र ११ गते आइतवारसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुने जनाएका छन् । वर्षात्को अनुपात २०८१ र २०८२ सालको असोजमा आएको बाढीकै जस्तो हुने अनुमान गरिएको छ ।

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमवार साँझ जारी गरेको विशेष मौसम बुलेटिनमा गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मेघ गर्जन चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

बुलेटिनमा मधेस प्रदेश, कोशी, बागमती र सुदूरपश्चिमको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ । उत्तर अन्डमान सागर र आसपासक्षेत्रमा विकसित न्युन चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपासमा रहेको उल्लेख छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्र भै पश्चिम उत्तर दिशातिर सर्ने देखिन्छ । यसको प्रभावले बुधवारबाट नै कोशी , मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने महाशाखाले जनाएको छ । त्यसको आधारमा बुधवारबाटै नेपालमा चारदिनसम्म वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी शुक्रवार र शनिवार भारी वर्षाको सम्भावना देखाएको छ । त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान केन्द्रीय विभागका मौसमविद्् प्राडा दीपक अर्यालले यो वर्षको वर्षा विनाशकारी हुनसक्ने चेतावनी दिनुभयो । उहाँका अनुसार न्युन चापीय क्षेत्र भारतको ओडिसा र उत्तर आन्ध्र प्रदेशमा विकास भैरहेकाले सो प्रणाली नेपाल आउने सम्भावना बढी देखिएको छ । सो प्रणाली नेपाल भित्रिए ३ सय देखि ७ सय मिलिलिटर वर्षा हुने सम्भावना रहेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘सो प्रणाली नेपाल भित्रिए भोलि बुधवार साँझदेखि प्रभाव पर्ने देखिन्छ ।’ कस्तो मिसिमको पानी पर्ने प्रणाली भित्रिँदैछ ? भन्ने विषयमा आज मंगलवार विशेष जानकारी दिने तयारी छ । अमेरिकाको ग्लोबल फोरकाष्ट सिष्टम (जिएफएस)ले बिहीवारबाट गण्डकी र सुदूरपश्चिममा भारीदेखि धेरै भारी पानी पर्ने अनुमान गरेको छ । यो मोडलले विश्वको सबै देशको मौसमी पूर्वानुमान गरिरहनेछ । सोही मोडल अध्ययन गर्दा दुई प्रदेशमा तीन दिनसम्म धेरै वर्षा हुन देखाएको मौसमविद् अर्यालले भन्नुभयो ।

अर्को मोडल जर्मन र स्वीस मोडलको आइकोन हो । यो मोडलमा काठमाडौँमा धेरै वर्षा देखाउँदैन । तर बागमती प्रदेशको पहाडी भेग, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना देखाएको प्राडा अर्यालको विष्लेषण छ । उहाँले आजसम्म थप अनुमान गरी वर्षाको बारेमा जानकारी दिन सकिने बताउनुभयो । विभिन्न मोडलले देखाएअनुसार बिहीवारदेखि शनिवारसम्म अति भारी वर्षाको सम्भावना छ । त्यसपछि तुलनात्मक रूपमा कम हुँदै जाने तर वर्षा नरोकिने अवस्था रहेको मौसमविद् अर्यालको भनाइ छ । उहाँका अनुसार वर्षा नेपाल भित्रिएमा बाढी र पहिरोले ठुलो क्षति पार्न सक्छ ।

मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले कस्तो प्रणाली नेपाल भित्रिन्छ ? भन्ने विषयमा विस्तृत जानकारी दिँदै जाने जानकारी दिँदै भन्नुभयो– ‘हेर्दा कस्तो प्रभाव पर्ला जस्तो देखिएको छ । विस्तृत जानकारी आज मंगलवारसम्ममा दिनेछौँ ।’ उहाँले बाली भित्र्याउनेलगायत कृषिजन्य कार्यमा वर्षाले असर पार्ने दाबी गर्नुभयो ।

त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडलको अध्ययन गर्दा बिहीवारदेखि सोमवारसम्म नेपालमा वर्षाको सम्भावना बलियो देखिएको जानकारी दिनुभयो । सामाजिक सञ्जालमा जानकारी दिँदै उहाँले लेख्नुभएको थियो–‘न्यूनचापीय प्रणाली बन्दै छ । नेपालसम्म आइपुग्ने प्रक्षेपण रहेकाले भारी वर्षा गराउने सम्भावना देखिन्छ ।’

जल तथा मौसम विज्ञान विभागले भने आइतवार साँझ विज्ञप्ति जारी गरेर ‘न्यूनचापीय प्रणाली’ले नेपालमा वर्षा गराउने भए पनि वर्षाको जोखिमको स्तर र सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको जनाएको छ ।

विभागले ७ गते बुधवारको मौसम बुलेटिनमा लेखेको छ – ‘प्रक्षेपणमा कोशी,बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण,सडक तथा हवाई यातायात, उद्दार तथा राहातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता साथै विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन अनुरोध छ ।’

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले न्यूनचापीय प्रणालीको असर कुनै न कुनै रूपमा नेपालमा पर्न सक्ने देखिएको जनाएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार उत्तर अन्डमान सागर र पूर्व–मध्य बंगालको खाडी आसपास विकसित न्यूनचापीय क्षेत्र पश्चिम–उत्तर पश्चिमतर्फ अघि बढिरहेको छ ।

यो प्रणाली सोमवार न्यूनचापीय र मंगलवार अझ बलियो भएर न्यूनचापीय प्रणाली बन्न सक्ने तथा त्यसपछि दक्षिण ओडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ पुग्ने अनुमान छ ।

यही प्रणालीबाट आउने जलवाष्प र नेपालमा रहेको पश्चिमी वायुमण्डलीय प्रणालीबिच समिश्रण भएमा नेपालमा वर्षा बढ्न सक्ने मौसमविद््हरूको आँकलन छ ।

बंगालको खाडीबाट आउने प्रणाली र पश्चिमी प्रणालीबिच समिश्रण भएर नेपालतर्फ जलवाष्पको प्रवाह बढेर वर्षा बढ्न सक्ने प्रबल सम्भावना रहेको त्रिवि जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्र पञ्जाब, हरियाणा, राजस्थान र दिल्लीसम्म मनसुन सकिएका कारण त्यहाँबाट सुख्खा हावा आउने अवस्था बनेको छ । बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीलाई उक्त सुख्खा हावाले रोक्ने भएकाले प्रणाली नेपालतर्फ आउने र त्यसका कारण नेपालका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुन सक्नेछ ।

पोरखेलले सामाजिक सञ्जालमा डरभन्दा पनि सचेत गराउन र सम्भावित जोखिमप्रति सचेत गराउन र पूर्वतयारीका लागि जानकारी गराइएको स्पष्ट पार्नुभयो ।

वर्षात् हुनसक्ने सम्भावनापछि गृहमन्त्रालय, विपद् प्राधिकरण, जल तथा मौसम विज्ञान विभागलगायतका निकायले आन्तरिक तयारी गर्न थालेका छन् । प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्तरिक रूपमा सुरक्षा निकाय र जिल्ला विपद् व्यवस्थापन समितिहरूसँग समेत समन्वय तथा सञ्चार गरिरहेको जनाएको छ ।

मौसमको अवस्था थप गम्भीर देखिएमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट विशेष एड्भाइजरी जारी गर्ने तयारी छ । सरकारले भारी वर्षा हुने सम्भावना भए अवस्था हेरेर सार्वजनिक यातायात तथा सार्वजनिक सेवा सञ्चालनसम्बन्धी थप निर्णयसमेत लिन सक्ने छ ।