काठमाडौँ।
पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजना भएको ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ। ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम स्टेसनमा सम्पन्न फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो।
प्रतियोगितामा क्रिजल एफसीले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा क्रिजल एफसीले नखिपोट एफसीलाई २–१ गोलले पराजित गर्यो।
उपाधिसँगै पेस एक्स स्पोर्टसले ५५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता स्टुडेन्ट एफसीले रु. २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यस्तै, तेस्रो स्थानमा रहेको कृजल एफसीले रु. १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको फेयर प्ले टिम याक्थुङ एफसी बन्यो । याक्थुङ एफसी ले नगद रु. ३ हजार १०० सहित ट्रफि प्राप्त गर्यो।
व्यक्तिगत विधातर्फ पेस एक्स स्पोर्टसकी स्मृति भुजेल उत्कृष्ट गोलरक्षक घोषित भइन्। उनले रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्। कृजल एफसीकी रेनुका हमाल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले पनि रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्।
प्रतियोगिताको फाइनल समारोहमा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। उनले महिला खेलाडीलाई खेलकुदमा सक्रिय बनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
उपप्रमुख बज्राचार्यले महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक सशक्तीकरण बढाउन यस्ता प्रतियोगिता प्रभावकारी हुने धारणा राखिन्।
उनले भनिन्, “महिलाहरूलाई खेलकुदमा अगाडि बढाउन प्रतिस्पर्धाका अवसरहरू निरन्तर सिर्जना गर्नुपर्छ। खेलकुद केवल प्रतियोगिता मात्र होइन, यसले महिलालाई आत्मविश्वासी, सक्षम र नेतृत्वदायी बन्न प्रेरित गर्छ।”
पेसएक्स स्पोर्ट्स एकेडेमीकी संस्थापक तथा अध्यक्ष संगीता कर्णले महिला खेलाडीलाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना गर्नुको उद्देश्य उनीहरूलाई आफ्नो प्रतिभा देखाउने र प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्नु रहेको बताइन्।
कर्णले भनिन्, “महिला खेलाडीमा प्रतिभाको कुनै कमी छैन, आवश्यकता केवल सही अवसर र प्रोत्साहनको हो। यही सोचका साथ हामीले महिला फुटसललाई प्राथमिकतामा राखेर यो प्रतियोगिता आयोजना गरेका हौँ। आगामी दिनमा पनि महिला खेलाडीलाई अझ ठूलो मञ्च प्रदान गर्दै उनीहरूको क्षमता विकास र खेलकुद यात्रामा पेसएक्सले निरन्तर साथ दिनेछ।”
उनले प्रतियोगितामा सहभागी सबै टोलीको उत्साह र प्रतिस्पर्धात्मक भावनाको प्रशंसा गर्दै यस्तो प्रतियोगिताले महिला फुटसलको विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन्।
पेसएक्स स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा कुल १२ महिला टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताले महिला फुटसलप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय महिला खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकले जनाएको छ।











प्रतिक्रिया