काठमाडौं।
नेपालमा औषधि उत्पादन, आयात, बिक्री तथा वितरणको क्षेत्र समयसँगै विस्तार भए पनि त्यसलाई नियमन गर्ने कानुनी संरचना भने दशकौँ पुरानै रहँदा औषधि क्षेत्र थप जटिल बन्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रतिनिधिसभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले २०३५ सालको औषधि ऐनले २०८३ सालको बदलिँदो औषधि बजार र वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै तत्काल समयसापेक्ष कानुनी सुधार आवश्यक रहेको बताउनुभयो ।
नेपाल औषधि थोक व्यवसायी संघ (पीडान) केन्द्रीय समितिको १०औँ वार्षिक साधारणसभामा शनिबार बोल्दै डा. कार्कीले औषधिको गुणस्तर, उपलब्धता र बिरामीसम्मको पहुँच सुनिश्चित गर्न उत्पादनदेखि उपभोक्तासम्मको सम्पूर्ण ‘सप्लाइ चेन’ व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
‘२०३५ सालको औषधि ऐनले २०८३ सालको वर्तमान अवस्थालाई सम्बोधन गर्न सक्दैन । यो विषयमा सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।

डा. कार्कीले औषधिको आपूर्ति प्रणालीमा देखिएको असन्तुलनले एकातिर कतिपय स्थानमा औषधि थुप्रिने र अर्कोतिर आवश्यक ठाउँमा औषधि नपाउने अवस्था सिर्जना गरेको बताउनुभयो । समयमा बिरामीसम्म औषधि नपुग्दा औषधिको गुणस्तरमा समेत असर पर्न सक्ने भएकाले उत्पादन र आयात मात्र नभई भण्डारण, ढुवानी, थोक तथा खुद्रा वितरणसम्मको चेनलाई व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ थियो ।
‘कतै औषधि थुप्रिएर बसेको छ, कतै औषधि पाइँदैन । नपाइने ठाउँमा पनि औषधि पुग्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘औषधि पुग्नुपर्ने ठाउँमा छिटो नपुग्दा गुणस्तर कायम नहुन सक्छ । त्यसका लागि औषधिको चेन प्रणालीमा सुधार गर्नुपर्छ ।’
औषधिको सप्लाइ चेन कहाँ–कहाँ सुधार गर्नुपर्ने हो भन्ने विषयमा व्यवसायी तथा सरोकारवालासँग छुट्टै छलफल आयोजना गर्न आफू तयार रहेको बताउँदै उहाँले आवश्यक परे त्यसलाई विधेयकका रूपमा अघि बढाउनसमेत पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।
डा. कार्कीले मागभन्दा बढी औषधि थुपार्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने र छिटो म्याद गुज्रिने औषधिको समयमै सदुपयोग गर्ने प्रणाली विकास गर्नुपर्ने बताउनुभयो । त्यसमा औषधि व्यवस्था विभागले आफ्नो नियामकीय भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
‘उत्पादन वा आयात गरेर मात्र जिम्मेवारी पूरा हुँदैन’
औषधि क्षेत्रका व्यवसायीहरूले पनि औषधिको समस्या कुनै एउटा तहमा मात्र सीमित नरहेको बताएका छन् । नेपाल औषधि आयातकर्ता संघ (मीयान) का महासचिव मधु पौडेलले औषधि उत्पादन, आयात, थोक, खुद्रा बिक्रीदेखि बिरामीसम्म पुग्ने सम्पूर्ण शृंखलालाई एउटै प्रणालीका रूपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले राम्रो अवस्थामा सबैको साथ हुने तर व्यवसायमा समस्या आउँदा औषधि क्षेत्रले एक्लै संघर्ष गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । औषधिको गुणस्तर र उपलब्धताको समस्या एउटा मात्र ‘चेन’का कारण नभई समग्र प्रणालीको कमजोरीका कारण उत्पन्न हुने उहाँको भनाइ थियो ।
‘औषधि उत्पादन गर्दा वा आयात गर्दा मात्र बिरामीको हातमा पुग्दैन,’ उहाँले भन्नुभयो, ‘बीचका प्रत्येक तहले औषधिको गुणस्तर कायम गर्दै सुरक्षित रूपमा बिरामीसम्म पु¥याउने जिम्मेवारी लिनुपर्छ ।’ उहाका अनुसार उत्पादक, आयातकर्ता, होलसेलर, रिटेलर, अस्पताल तथा अन्तिम उपभोक्तासम्मको प्रत्येक तहमा जिम्मेवारी स्पष्ट नहुँदा औषधिको गुणस्तर, उपलब्धता र प्रभावकारितामा प्रश्न उठ्न सक्छ ।
‘थोक व्यवसायीको भूमिका ऐनमै स्पष्ट गरियोस्’
संघका संस्थापक अध्यक्ष शिराज बाँस्कोटाले नयाँ औषधि नीति तथा कानुन बनाउँदा भविष्यमा आउन सक्ने चुनौतीलाई समेत ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले नयाँ औषधि ऐन बनाउँदा थोक व्यवसायीको भूमिका स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने बताउनुभयो । ‘औषधि ऐन बन्दै गर्दा हाम्रो भूमिका के हो, स्पष्ट पारिदिनुपर्छ । ३५ वर्ष पुरानो औषधि ऐनमा प्रश्न छ,’ उहाँले भन्नुभयो ।
बाँस्कोटाले एउटै व्यवसाय सञ्चालनका लागि विभिन्न स्थानमा छुट्टाछुट्टै दर्ता र करसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थाले व्यवसायीलाई अनावश्यक प्रशासनिक बोझ थपेको बताउनुभयो । व्यवसायीलाई कर तिर्ने वातावरण सहज बनाउँदै ‘करले होइन, रहरले तिर्ने’ अवस्था सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले औषधि व्यवस्था विभागको वर्तमान संरचना कमजोर बन्दै गएको भन्दै विभागलाई थप अधिकारसम्पन्न र प्रभावकारी बनाउनुपर्ने मागसमेत गर्नुभयो । विभागमा वरिष्ठ तहको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै विशिष्ट श्रेणीका सचिवको नेतृत्वमा विभागलाई बलियो बनाउन सकिने विकल्प उहाँले अघि सार्नुभयो ।
‘सस्तो मूल्यमा गुणस्तरीय औषधि चाहिन्छ’
नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष गणेश नेपालले औषधि व्यवसायीका समस्या पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि अपेक्षित रूपमा सम्बोधन हुन नसकेको बताउनुभयो । नयाँ नीति नबनेसम्म नेपालको औषधि बजारमा देखिएका समस्या समाधान गर्न कठिन हुने भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बिरामीले सहज रूपमा सस्तो मूल्यमा गुणस्तरीय औषधि पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
संघका लुम्बिनी प्रदेश उपाध्यक्ष तुफानबाबु श्रेष्ठले पनि बिरामीलाई सुपथ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउन सम्पूर्ण व्यवस्थापकीय प्रणाली सुदृढ बनाउनुपर्ने बताउनुभयो । व्यवस्थापन प्रणाली बलियो भए मात्र औषधि व्यवसायलाई मर्यादित र जिम्मेवार बनाउन सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा औषधि उत्पादक संघलगायत विभिन्न औषधिसम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूले पनि औषधिको उत्पादन, आयात, बिक्री तथा वितरणमा देखिएका समस्या र सुधारका उपायबारे धारणा राखेका थिए । वक्ताहरूको साझा जोड औषधिको उत्पादन वा आयातमा मात्र नभई बिरामीको हातमा सुरक्षित, गुणस्तरीय, समयमै र सुपथ मूल्यमा औषधि पुग्ने प्रणाली निर्माणमा थियो । औषधि जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील वस्तु भएकाले व्यवसायिक हितसँगै सार्वजनिक स्वास्थ्यको जिम्मेवारीलाई केन्द्रमा राखेर कानुन, नियमन र आपूर्ति शृंखलाको पुनर्संरचना गर्नुपर्ने धारणा वक्ताहरुको थियो ।
औषधि क्षेत्रमा देखिएको अहिलेको बहसले २०३५ सालको कानुनको संशोधन मात्र होइन, उत्पादकदेखि बिरामीसम्मको सम्पूर्ण आपूर्ति शृंखलामा कसको के जिम्मेवारी हुने, औषधिको उपलब्धता र गुणस्तर कसरी सुनिश्चित गर्ने तथा नियामक निकायलाई कसरी प्रभावकारी बनाउने भन्ने प्रश्नसमेत सतहमा ल्याएको छ । औषधि उत्पादन गरेर मात्रै हुँदैन, बिरामीको हातसम्म गुणस्तरीय औषधि पुग्नुपर्छ । साथै उत्पादनदेखि बिक्री–वितरणसम्मै समस्या, सम्पूर्ण आपूर्ति शृंखला जिम्मेवार हुनुपर्ने औषधि व्यवसायीको जोड रहेको छ ।
कार्यक्रममा बोल्दै एक वक्ताले औषधि व्यवसाय मर्यादित र सेवामूलक पेसा भए पनि व्यवसाय सञ्चालन गर्न आर्थिक रूपमा सक्षम हुनुपर्ने बताउनु भयो । उहाँका अनुसार व्यवसायमा संलग्न भएपछि सेवा मात्र गरेर पुग्दैन, घर–परिवार, करियर र सम्पूर्ण जीवन जोखिममा राखेर गरिएको व्यवसायबाट उचित आम्दानी हुनुपर्छ । व्यवसायमा नाफा सिर्जना हुन नसके दीर्घकालीन रूपमा त्यसलाई निरन्तरता दिन कठिन हुने र व्यवसायीहरू पेसाबाटै विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ थियो । ‘व्यवसायमा प्रफिट जेनेरेट भएन भने अन्ततः एक दिन व्यवसायलाई निरन्तरता दिन गाह्रो हुन्छ,’ कार्यक्रममा व्यक्त धारणा थियो, ‘त्यसपछि साथीहरू पेसाबाटै बाहिरिनुपर्ने अवस्था आउन सक्छ ।’

औषधि क्षेत्रमा करिब डेढ दशकभन्दा बढी समयदेखि काम गर्दै आएको अनुभव सुनाउँदै उहाँले व्यवसायमा समस्या आउँदा एकअर्कालाई साथ दिने संस्कार विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो । औषधिको आपूर्ति प्रणालीमा समस्या आए त्यसको जिम्मेवारी कुनै एक पक्षलाई मात्र दिन नमिल्ने तर्क पनि राखिएको थियो । ‘औषधिको आपूर्ति शृंखलामा समस्या आयो भने त्यो एउटा मात्र पक्षका कारण हुँदैन,’ उत्पादकहरुले भने, ‘म्यानुफ्याक्चरर, इम्पोर्टर, होलसेलर, रिटेलरदेखि बिरामीको तहसम्मै समस्या हुन सक्छ ।’
औषधि सही समयमा, सही अवस्थामा र सही व्यक्तिसम्म नपुगे त्यसको प्रतिकूल असर बिरामीमा पर्न सक्नेमा जोड दिँदै त्यसको प्रभाव उत्पादकमा मात्र सीमित नहुने बताइयो । औषधिको गुणस्तर कायम राख्न उत्पादन वा आयातको चरणमा मात्र नभई भण्डारण, ढुवानी, थोक बिक्री, खुद्रा बिक्री तथा अन्तिम प्रयोगसम्म निरन्तर निगरानी र जिम्मेवारी आवश्यक पर्ने भएकाले यस विषयमा सरकार लगायत सबैपक्ष कानुनी रुपमै बलियो बन्नुपर्नेमा जोड दिइयो ।











प्रतिक्रिया