म्याग्दी।
म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरस्थित जनकल्याण माध्यमिक विद्यालयमा विद्यालय रूपान्तरणका लागि शुक्रवारदेखि पूर्वतयारी कार्यशाला गोष्ठी सुरु भएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, दीर्घकालीन विकास तथा समग्र सुधारका लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
जनकल्याण माविको आयोजना, संगम म्याग्दीको सहजीकरण तथा सहयोगमा सञ्चालित गोष्ठीको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । विद्यालय प्राङ्गणमा आयोजित गोष्ठीको उद्घाटन गर्दै उहाँले विद्यालयको गुणस्तर सुधार तथा दीर्घकालीन विकासका लागि विद्यालयसँग सम्बन्धित सबै पक्ष बीचको सहकार्य र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।
नगर प्रमुख केसीले विद्यालयको विकासका लागि तत्कालीन आवश्यकतासँगै दीर्घकालीन योजना निर्माणमा समेत गोष्ठीमा ध्यान दिनुपर्ने बताउँदै बेनी नगरपालिकाले बनाएको योजनाहरुसँग जोड्ने गरी गोष्ठीबाट आवश्यक योजना र कार्यक्रमहरु बनाउन सुझाव दिनुभयो । गोष्ठीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाबीच हुने यस्ता छलफलले विद्यालयको भावी कार्यदिशा तय गर्न सहयोग पुग्ने बताउँदै उहाँले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिसँगै कायम राख्न विद्यालय प्रशासन र शिक्षकहरु लाग्नुपर्ने बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने कार्यशालामा विद्यालयको वर्तमान अवस्था, आवश्यकता, सम्भावना र भावी योजनाका विषयहरुमा सहभागीहरुबीच व्यापक अन्तक्र्रिया, बहस तथा छलफल गरेर त्यसबाट विद्यालयको दूरगामी विकासका लागि आवश्यक निचोड निकालिने जनाइएको छ । कार्यशालामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षकहरु, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय सरोकारवाला तथा विद्यार्थीको सहभागिता जनाएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कप्रसाद श्रेष्ठको अध्यक्षता र प्रधानाध्यापक गजिन्द्र श्रेष्ठले स्वागत गर्नुभएको गोष्ठीको उद्घाटनसत्रमा कार्यक्रमको सञ्चालन शिक्षक शान्ति शर्मा पौडेलले गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँ र विद्यालयका पूर्व अध्यक्ष गोपाल बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यशालाका प्रशिक्षक डा. रामबहादुर राउतले तीन दिनको अवधिमा गरिने छलफल र अन्तत्र्रिmयाका विषयवस्तुसहित कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यशालाबाट विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै व्यवस्थापन, पूर्वाधार निर्माण, शिक्षक र विद्यार्थीको सम्बन्ध, अभिभावकहरु तथा सरोकारवालाको भूमिका र विद्यालयको दीर्घकालीन विकासमा स्पष्ट योजनासहितको कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ । गोष्ठीमा प्रशिक्षक राउतले विद्यालयको विकास, रणनीतिक लक्ष्य र उद्देश्यहरु, भावी योजना तथा कार्यक्रम तय गर्नेलगायत विविध विषयहरुमा सहजीकरण गरिरहनुभएको छ ।
—











प्रतिक्रिया