काठमाडौं ।
बाढीमा बेपत्ता नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी र महासंघ भक्तपुर शाखाका सदस्य पत्रकार शेखर ढुंगानाको कुशबाट अन्त्येष्टि गरिएको छ।रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि भदौ १० गतेदेखि सम्पर्कविहीन थामीको तीन सातासम्म खोजी गर्दा पनि सकारात्मक खबर नआएपछि परिवारको सहमतिमा थामी संस्कारअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको महासंघले जनाएको छ।
त्यस्तै, मानसरोवर भ्रमणका क्रममा पत्नीसहित सम्पर्कविहीन भएका पत्रकार ढुंगानाको भदौ १८ गते हिन्दु परम्पराअनुसार कुशबाट अन्त्येष्टि गरिएको थियो। सम्पर्कविहीन भएको आठौं दिनसम्म पनि कुनै खबर नआएपछि परिवारले अन्तिम संस्कार गरेको महासंघ भक्तपुर शाखाले जनाएको छ।महासंघका अनुसार थामी दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए। उनले सगरमाथा टेलिभिजन, एबीसी टेलिभिजन हुँदै पछिल्लो समय नयाँ पत्रिका दैनिकमा काम गर्दै आएका थिए।
ढुंगानाले पनि देशान्तर साप्ताहिकलगायतका सञ्चारमाध्यममा लामो समय काम गरेका थिए।यसैबीच, बाढीमा बेपत्ता नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका पूर्वकार्यसमिति सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष राजकुमार नेपालीको भने डीएनए परीक्षणको रिपोर्ट आएपछि मात्र परिवारले थप निर्णय लिने जनाएको महासंघले बताएको छ।











प्रतिक्रिया