काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा र विकासका कारण सिर्जित जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले खेप्न नहुने बताएकी छन्।
शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै भण्डारीले जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणमा शक्ति राष्ट्रहरूले पर्याप्त लगानी नगरेको बताइन्।
उनले हिन्दकुश हिमालय क्षेत्रका देशहरूले अन्तर्राष्ट्रिय मञ्चमा सामूहिक रूपमा बलियो आवाज उठाउनुपर्नेमा जोड दिइन्। नेपालसँग आर्थिक तथा राजनीतिक शक्ति सीमित रहेकाले सामूहिक पहल आवश्यक रहेको उनको भनाइ थियो।
हिमाल तथा पहाडी क्षेत्र कमजोर बन्दै गएको समस्या पुरानै भए पनि मानव सिर्जित गतिविधि र विकास तथा प्रविधिको नकारात्मक प्रभावले समस्या थप जटिल बनेको उनले बताइन्। हिमाल, पहाड र समग्र पर्यावरण संरक्षणका लागि आवश्यक नीति, कार्यक्रम र लगानी बढाउनुपर्नेमा उनले जोड दिइन्।











प्रतिक्रिया