संविधान संशोधन प्रतिवेदन खारेज गर्न आङ्देम्बेको माग


काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गरेका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले संविधान संशोधनलाई सत्ता स्वार्थको विषय बनाउन नहुने बताए। उनले बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ कार्यदल गठन गरी राष्ट्रिय सहमतिका आधारमा संशोधन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।

आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि हस्तक्षेप भइरहेको आरोप पनि लगाए। उनले व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रता तथा संवैधानिक संस्थाको गरिमा कायम राख्न सरकारलाई आग्रह गरे।

उनका अनुसार आवश्यक सुधारका लागि संविधान संशोधन गर्न सकिने भए पनि संशोधनका नाममा संविधानको मूल मर्म र आधारभूत मूल्य–मान्यतामाथि प्रहार गर्न नहुनेछ।