काठमाडौँ ।
संविधान दिवसका अवसरमा एक नागरिक अभियन्ताले संविधानका उपलब्धि संरक्षण गर्दै यसको पूर्ण कार्यान्वयनका लागि नागरिक तहबाट निरन्तर खबरदारी आवश्यक रहेको बताएका छन्।
२०७२ को संविधान विभिन्न नागरिक तथा राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको दस्ताबेज भएको उल्लेख गर्दै उनले संघीयता, समावेशिता, सामाजिक न्याय, धर्मनिरपेक्षता र लोकतन्त्र संविधानका महत्वपूर्ण आधार रहेको बताएका छन्।
उनले पछिल्लो समय मुलुकको राजनीतिक दिशा संविधानले परिकल्पना गरेको अग्रगामी यात्राबाट विचलित हुँदै गएको अनुभूति हुन थालेको बताएका छन्। राजनीतिक दलहरूको कमजोरी, भ्रष्टाचार, कुशासन र सेवा प्रवाहमा देखिएको समस्याले नयाँ पुस्तालाई आन्दोलनमा आउन बाध्य बनाएको उनको विश्लेषण छ।
जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक अवस्था थप तरल बनेको उल्लेख गर्दै उनले लोकतान्त्रिक संस्था, संविधान र नागरिक स्वतन्त्रताको भविष्यबारे विभिन्न प्रश्न उठेको बताएका छन्। सार्वजनिक संस्थामा सैन्य अधिकारीको नियुक्ति, धार्मिक कट्टरता तथा संस्थागत सेन्सरसिपको सम्भावनाले लोकतान्त्रिक चरित्रमा असर पार्न सक्ने आशंका पनि उनले व्यक्त गरेका छन्।
राजनीतिक दलसँगै नागरिक समाज, सञ्चारमाध्यम, ट्रेड युनियन तथा महिला, दलित र अन्य सामाजिक आन्दोलनसँग सम्बन्धित संस्थाहरूले लोकतन्त्र र सामाजिक न्यायका पक्षमा निरन्तर पहरेदारी गर्नुपर्ने उनको भनाइ छ।
उनले संविधानलाई समयअनुकूल संशोधन र परिमार्जन गर्दै यसको मूल मर्मका रूपमा रहेको लोकतन्त्र, सामाजिक न्याय र नागरिक स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।











प्रतिक्रिया