काठमाडौं ।
नेपालको पहिलो बृहत् अन्तर्राष्ट्रिय भास्कुलर सम्मेलन ‘हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास)’ को दोस्रो संस्करण हिमभास–२०२७ आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेका अनुसार १७ देखि २१ मार्च २०२७ सम्म हुने सम्मेलनमा हालसम्म ६० भन्दा बढी देशका विज्ञ चिकित्सक तथा वैज्ञानिकले सहभागिताका लागि रजिस्ट्रेसन गरिसकेका छन् ।


सम्मेलनमा १०० भन्दा बढी देशका विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकलाई सहभागी गराउने लक्ष्य राखिएको छ । सन् २०२४ मा भएको पहिलो हिमभासमा ४२ देशका विज्ञ चिकित्सक तथा वैज्ञानिकसहित ३५० भन्दा बढीको सहभागिता रहेको थियो । पहिलो सम्मेलन तीन दिन चलेकोमा यसपटक पाँच दिनसम्म कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । सम्मेलनमा भास्कुलरसम्बन्धी अध्ययन–अनुसन्धानका प्रतिवेदन प्रस्तुत गर्नुका साथै उपचारका अनुभव आदानप्रदान गरिनेछ ।
आयोजकका अनुसार सम्मेलनमा ३०० भन्दा बढी वैज्ञानिक पेपर तथा पोस्टर प्रस्तुत हुनेछन् । मानव शरीरको शिरदेखि पाउसम्मका रक्तनलीको अध्ययन, अनुसन्धान तथा उपचारसँग सम्बन्धित भास्कुलर चिकित्सा क्षेत्रमा पछिल्लो समय भइरहेका नयाँ खोज तथा उपचार प्रविधिबारे सम्मेलनमा छलफल हुने डा. पाण्डेले बताए । सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, इटाली, फ्रान्स, जापान, चीन, भारत, यूएईलगायत विकसित मुलुकका साथै बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिंगापुर, टर्की, अष्ट्रिया, कोलम्बिया, इजिप्ट, हङकङ, स्वीडेन र ओमानलगायत देशका विज्ञ सहभागी हुने आयोजकले जनाएको छ । आयोजकले सम्मेलनलाई नेपालको मेडिकल टुरिजम प्रवर्द्धनसँग पनि जोडेको छ ।
डा. पाण्डेका अनुसार पहिलो हिमभासमा सहभागी भएका ४० भन्दा बढी विदेशी विज्ञ सम्मेलनपछि माउन्टेन फ्लाइट तथा एभरेस्ट बेसक्याम्प भ्रमणमा गएका थिए । यसपटक पनि सहभागी विदेशी विज्ञले सम्मेलनपछि नेपालमा केही दिन बसेर विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने अपेक्षा गरिएको छ । पहिलो हिमभासपछि ३०० भन्दा बढी विदेशी बिरामी उपचारका लागि आफ्नो सम्पर्कमा आएको डा. पाण्डेको दाबी छ ।
भारत, भुटान र बंगलादेशका साथै मध्यपूर्व, मलेसिया, इन्डोनेसिया, टर्की र केही युरोपेली मुलुकबाट समेत उपचारका लागि बिरामी नेपाल आउन थालेको उनले बताए । आयोजकका अनुसार सम्मेलनले नेपालमा उपलब्ध भास्कुलर उपचार सेवा र प्रविधिबारे अन्तर्राष्ट्रिय विज्ञबीच अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नुका साथै विदेशी बिरामीलाई नेपालमा उपचारका लागि आकर्षित गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया