भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ शव फेला, ४ हजार ८९ अझै बेपत्ता


काठमाडौं ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १ हजार ४०१ शव विभिन्न जिल्लामा भेटिएका छन् भने काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार रसुवामा १९३, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्। शव पहिचानका लागि मृतक र आफन्तबाट गरी ३ हजार १९० वटा डीएनए नमुना संकलन गरिएको छ। हालसम्म १ हजार २३५ शव व्यवस्थापन गरी सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ८४ जना राखिएका छन्। पछिल्लो विवरणले बाढीपछिको मानवीय क्षतिको भयावहता अझै गहिरिँदै गएको देखाएको छ भने बेपत्ताको खोजी र शव पहिचान चुनौतीपूर्ण बनेको छ।