यस्तो छ रुट
गोदावरीदेखि बूढानीलकण्ठसम्म, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि नागढुङ्गासम्म, कीर्तिपुरदेखि न्युरोड, नेपाल वायुसेवा निगमसम्म र चक्रपथमा दुईतर्फी फन्को
–असोज ३ संविधान दिवसबाट यात्रा सुरु
–७ थियो, २१ थप गरी २८ रात्रिबस
काठमाडौँ ।
असोज ३ गते संविधान दिवसदेखि उपत्यकाको सडकमा मध्यरातसम्म साझा यातायातका रात्रिबस सरर हुइँकिने भएका छन् । काठमाडौँ महानगरपालिकाको संयोजनमा उपत्यकाका ८ स्थानीय तहको साझेदारीमा साझा बस सञ्चालन हुन लागेका हुन् ।
उपत्यकाको उत्तरदक्षिण र पूर्वपश्चिम दुवै क्षेत्र जोड्ने गरी सेवा थालनी हुनेछ । ललितपुरको गोदावरीदेखि बूढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौँको नयाँसडक नेपाल बायुसेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन् । सबै रुटमा २८ बसले सेवा दिनेछन् ।
चक्रपथमा यातायात सेवा पुगेपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ । साझा बस सञ्चालन गर्न काठमाडौँ र ललितपुर महानगरपालिका, बूढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर ठिमी, गोदावरी र कीर्तिपुर नगरपालिकाको सहभागिता रहनेछ ।
हरेक दिन शनिवार राती ८ बजेदेखि १२ बजेसम्म बसले सेवा दिनेछ । यो सेवाबाट यात्रुलाई थप सहज बनाउन पालिकाका विभिन्न स्थानमा चार्जिङ स्टेसन तयार गरी बसहरूले राती स्टेसनमा राख्ने र बिहानदेखि विद्यार्थी लक्षित सेवा प्रदान गर्ने लक्ष्य राखेका छन् ।
कामपाका प्रवक्ता नवीन मानन्धरले रात्रिकालीन बस सञ्चालन गर्दा श्रमिकको पारिश्रमिक र चार्जिङ स्टेसन निर्माण गर्न स्थानीय तहहरूले सहयोग गर्ने बताउनुभयो । ‘कति आर्थिक सहयोग गर्ने ? भन्ने विषयमा हालसम्म निर्णय भएको छैन’, प्रवक्ता मानन्धरले भन्नुभयो– ‘पहिला बस सञ्चालन गरौँ, त्यसपछि कुन स्थानीय तहले कति सहयोग गर्ने भन्ने विषयमा छलफल होला ।’ उहाँले उपत्यकावासी श्रमिक, विद्यार्थी र कर्मचारीलाईलाई रात्रिकालीन सेवा दिन बस सञ्चालन गर्र्ने निर्णय भएको बताउनुभयो ।
साझा यातायातमा नेपाल सरकारको ३ अर्ब र काठमाडौँ महानगरपालिकाको १५ करोड रुपैयाँ सेयर लगानी छ । हाल साझा यातायातको स्वामित्वमा १ सय ११ बस छन् । रात्रिकालीन यातायात सेवा सञ्चालन गर्न अन्तर नगर सहकार्य, समन्वय र साझेदारिताको प्रस्ताव लिएर कामपाका कार्यवाहक प्रमुख सुनीता डंगोल भक्तपुर र मध्यपुर ठिमी नगरपालिका पुग्नुभएको छ ।
कावा मेयर डंगोल प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, निर्देशक वसन्त आचार्य, साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेल, कार्यकारी निर्देशक भूपेन्द्र अर्यालसहित दुई स्थानीय तह पुग्नुभएको थियो । कावा मेयर डंगोलले भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, उपप्रमुख रजनी जोशी, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसँग छलफल गर्नुभएको छ ।
भेटघाटमा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँ उपत्यकाको जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई वृद्धि गर्न पालिकामा रात्रिकालीन यातायात सञ्चालन गर्ने निचोडमा पुगेको बताउनुभएको थियो । ‘सबै नगरपालिकाहरुले अपनत्व हुने गरी सेवा थाल्ने विषयमा चरणबद्ध छलफल गरिसकेका छौँ । यसका लागि ३ महिनाको परीक्षण पनि गरेका छौँ । यसबाट अन्तरनगर साझेदारिताबाट रात्रिकालीन बस सेवा सञ्चालनका सम्भावना देखिएको छ’ –कावा मेयर डंगोलको भनाइ थियो ।
भक्तपुर नगरपालिकाका मेयर प्रजापतिले ट्रली बस सञ्चालन हुँदाको अनुभव स्मरण गर्दै ‘ट्रली बस सञ्चालन हुँदा काठमाडौँ र भक्तपुर राम्ररी जोडिएका थिए । स्थानीयलाई आवातजावत गर्न धेरै सजिलो थियो । अहिले निकै समस्या परेको छ । साझा यातायातले सेवा दिन थालेपछि सहज हुनेछ’ भन्नुभयो । यस प्रकारको सेवा अति जरुरी रहेको बताउँदै सेवालाई केवल नाफा–घाटाको दृष्टिले मात्र हेर्न नहुने उहाँको धारणा थियो ।
साझा यातायात सञ्चालक समितिका अध्यक्ष सुशील प्याकुरेलले स्थानीय सरकारको साझेदारीमा साझा यातायात सञ्चालन हुने भएपछि यात्रुको सुरक्षाप्रति आत्मविश्वास हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘यात्रुको संख्यामा वृद्धि गराउँछ । यो कामका लागि कामपाले लिएको नेतृत्वबाट श्रमिक र विद्यार्थी वर्गका बिचमा सार्वजनिक यातायातको सहज पहुँच बढ्नेछ ।’ उहाँले रात्रि व्यवसाय सञ्चालन गर्ने व्यवसायी, बिरामी तथा आन्तरिक पर्यटकलाई सहज हुने दाबी गर्नुभयो ।











प्रतिक्रिया