दमौली।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, कमलबारीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक आइतबार बिहान कमलबारीस्थित पृथ्वी राजमार्गमा आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–६ निवासी करिब २६ वर्षीय अजय थिङलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको थियो।
गम्भीर अवस्थामा रहेका थिङको उपचारका क्रममा चिकित्सकले बिहान ९ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रकका सहचालकको घुँडामा सामान्य चोट लागेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको भए पनि राजमार्गमा सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
यसअघि पनि उक्त क्षेत्रमा सवारी दुर्घटना हुने गरे पनि चालक घाइते हुने गरेका थिए। यसपटक भने दुर्घटनामा चालकले ज्यान गुमाएका छन्।











प्रतिक्रिया